बाजुरा ः गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले आफ्नै गृह वडामा रहेका समाजसेवी तथा घटाल देवताका धामी खन्टे रोकायाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । सोसल मिडिया मार्फत शोक सन्देश व्यक्त गर्दै अध्यक्ष रोकायाले आफू अत्यन्त मर्माहत भएको जनाएका छन् ।
उनले बाल्यकालदेखि नै स्व.रोकायाबाट माया, स्नेह र मार्गदर्शन प्राप्त गर्दै आएको उल्लेख गर्दै भनेका छन्, “उहाँको जीवन समाजको सेवामा समर्पित थियो । उहाँका प्रेरणादायी कार्य र योगदानहरू सदैव स्मरणीय रहने छन् ।”
धामी रोकायाको सरल जीवनशैली, समाजप्रति निष्ठा र सेवा भावले आफूलाई पनि ठूलो प्रेरणा मिलेको उल्लेख गर्दै अध्यक्ष रोकायाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । रोकायाको ८६ वर्षको उमेरमा गौमुल गाउँपालिका-५, अम्लिस स्थित आफ्नै निवासमा निधन भएको हो ।





प्रतिक्रिया