बाजुरा ः गौमुल गाउँपालिका-४ नम्बर वडाले सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबालिकाहरुको अवस्थालाई ध्यान दिन आग्रह गरेको छ । वडाले एक अपिल जारी गर्दै यस्तो भनेको छ । बर्खे विदाको समयलाई ध्यानमा राखेर विदाको समयमा घरमा बालबालिकाको पढाईको अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिईएको छ ।
‘बालबालिकाको भविष्य नै समाज र देशको भविष्य’ भएकोले अभिभावक दाजुभाई दिदीबहिनीले गम्भीर बन्न वडा अध्यक्ष अमर विकले अनुरोध गरेका छन् ।
गत असार २१ गतेदेखि विद्यालय बन्द रहेको र आगामी श्रावण १८ गतेबाट विद्यालयमा नियमित पठनपाठन सुरु हुने भएकोले केही समय घरको काम र केही समय पढाईको अवस्थालाई बुझ्न अपिल गरेका छन् ।
वडा अध्यक्ष विकले विद्यालयले दिएको गृहकार्य गरे नगरेको ? बिहान बेलुका पढ्ने बानीको विकास भए नभएको ? जस्ता कुरालाई एक पटक अनिवार्य ख्याल गर्न स्मरण गराएका छन् ।
व्यक्तिलाई जीवन जिउन सिकाउने प्रक्रिया अर्थात् व्यक्तिको ज्ञान, सीप, सोच, आचरण, र व्यवहार विकास गर्ने प्रक्रिया शिक्षा भएका कारण यसमा अभिभावकले सोच्न जरुरी रहेको छ ।
वडा सरकार आफ्नो बलबुताले भ्याएसम्म नागरिकको हरेक समस्यामा सारथी हुन तत्पर रहेको उल्लेख गर्दै समाज रुपान्तरणमा सबैको दायित्व उत्तिकै हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया