बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको गृह वडा अम्लिसको भुरीगाउँ टोलमा खानेपानीको समस्या रहेको छ । अध्यक्ष रोकायाको गृह वडा भुरीगाउँ टोलमा बसोबास गर्ने दलित र गैरदलित बस्तीमा खानेपानीको अभाव देखिएको छ ।
दलित र गैरदलित गरी करिब २४ घरपरिवार समस्यामा परेका छन् । भुरीगाउँ टोलमा रहेको एउटै धाराको पानी हाल स्थानीयले उपभोग गरिरहेका छन् । यसअघि निर्माण गरिएको खानेपानीका संरचना अस्तव्यस्त भएपछि मुहानबाट खानेपानी धारासम्म आउन सकेको छैन् ।
आरेखाडाबाट ल्याएको खानेपानीका पाइप लाइन लामो दुरीमा भएका कारण समेत पानी सहज रुपमा धारामा आउन नसकेको हो । भुरीगाउँमा आरेखाडा, लिस्साकाकिला, किमडी लगायत ४÷५ मुहानको पानी ल्याएको भएपनि हाल पानीका धारा सुकेका छन् ।
हाल एउटै धाराको खानेपानी भुरीगाउँ बासीले पिउन बाध्य भएका छन् । ग्रामीण जलस्रोत परियोजनाले निर्माण गरेको खानेपानी जीर्ण भएपछि अहिले खानेपानीको अभाव भएको छ ।
कतिपय स्थानीय नागरिकले गाउँपालिकाका अध्यक्षकै गृह टोलमा खानेपानीको समस्या छ भने अन्य वडाका टोलको अवस्था कस्तो होला ? भनेर प्रतिक्रिया दिने गरेका छन् ।
यता वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले खानेपानी निर्माणका लागि सर्भे गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । तत्काल खानेपानी निर्माण हुने उनको भनाई रहेको छ ।
प्रतिक्रिया