बाजुरा ः गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समिति एकसाता बन्द हुने भएको छ । गत श्रावणमा पहिरोका कारण भत्किएको नहरलाई निर्माण गरिने भएका कारण एकसाता सेवा बन्द हुने आयोजनाका सचिव दीपेन्द्र रोकायाले बताएका छन् ।
पहिरोका कारण भत्किएको नहरलाई निर्माण गर्नका लागि एकसाता सेवा प्रभावित हुने भएपछि आयोजनाले यसअघि नै सूचना जारी गरेको उनले बताएका छन् । सूचना जारी गरेर स्थानीयलाई उज्यालोको वैकल्पिक व्यवस्था गर्न भनिएको थियो ।
सेवा प्रभावित हुने भएपछि आयोजनाले उपभोक्तामा परेको असर प्रति क्षमा समेत मागेको छ । वर्षादमा भत्किएको नहर निर्माण हुने भएको छ । ३ सय ५० बढी उपभोक्ता उक्त आयोजनाबाट सेवा लिने गरेका छन् । सेवा बन्द हुने भएपछि गाउँपालिका, वडाबाट प्रदान गरिने सेवाहरु प्रभावित हुने भएका छन् ।
त्यस्तै विद्युतीय उपकरण र रेडियो गौमुल लगायत सञ्चार माध्यामलाई समेत सेवा दिन समस्या हुने भएको छ । नहर निर्माण गर्नका लागि झण्डै एकसाता लाग्ने भएको छ ।
प्रतिक्रिया