गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:३३

गौमुल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारको महाजाल

जवाफ माग्दै अध्यक्ष रोकाया प्राधिकरणको केन्द्रीय कार्यालयमा
बाजुरा
रमित वि.क.
मङ्गलबार, फागुन २०, २०८१
गौमुल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारको महाजाल

बाजुरा ः नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि जिल्लाका स्थानीय तहमा धमाधम जोड्न थालेको छ । ९ वटा स्थानीय तह रहेको बाजुरामा बडीमालिका नगरपालिकाका केही वडामा बाहेक अन्य स्थानीय तहमा आंशिक रुपमा विद्युत लाइन विस्तार भएर काम जारी रहेको छ ।

पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहमा लाइन विस्तारको क्रम चलिरहेको छ भने तल्लो क्षेत्रका बुढीगंगा नगरपालिका १, २ र ३ वडा र त्रिवेणी नगरपालिकामा लाइन विस्त्तारको क्रममा रहेको छ । उता खप्तड छेडेदह गाउँपालिकामा ५ र ७ नम्बरमा नियमित सञ्चालनमा रहेको छ भने ४ र ६ नम्बर वडाको आधा भागमा विद्युत लाइन विस्तार भईरहेको छ ।

तर गौमुल गाउँपालिकामा भने यसको कुनै सुरसार समेत नभएको पाईएको छ । केही वर्ष अघि पालिकाको केन्द्रबाट ४, ५ र ६ नम्बर वडामा पोलहरु गाडिएको भएपनि लाइन विस्तार भने गरिएको थिएन् ।

गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि तत्कालिन कार्यालय प्रमुख ललित मण्डलको पालमा सर्भे भएको तर प्रक्रियामा नगएका कारण छुटेको कार्यालय प्रमुख राजेश कुमार झाले बताएका छन् ।

आफु कार्यालय प्रमुख भएर आउनु पूर्वको सर्भे भएको र पछि राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि सिफारिस भएर नआएपछि छुटेको थाहा भएको प्रतिक्रिया दिएका छन् ।

उता गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया भने नेपाल विद्युत प्राधिकरणको लाइन विस्तार किन छुट्यो भनेर केन्द्रमा जवाफ माग्न गएका छन् । अध्यक्ष रोकाया नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर ग्रामीण विद्युतीकरणमा पालिका छुटेको भन्दै जवाफ मागेका छन् ।

ग्रामीण विद्युतीकरणमा जिल्लाका सबै स्थानीय तहहरुमा लाइन विस्तारको क्रम चलेको तर गौमुल गाउँपालिका भने यसबाट छुटेको छ । अध्यक्ष रोकायाले ग्रामीण विद्युतीकरण परियोजनाको विषयमा काम के भएको छ भनेर बुझ्न नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पुग्दा ग्लोबल  टेण्डर भएर अगाडी बढेको र जिल्लाका ८ वटा पालिका मात्र समावेश भएको पाईएको छ ।

गौमुल गाउँपालिका समावेश नगरेको प्रति आपत्ती जनाउदै केन्द्रीय प्रसारणको लाइन पालिकामा दुई वर्षभित्र पुर्याउने गरी ग्यारेण्टी गर्न माग समेत गरेका छन् । साथै दुई वर्षभित्र पालिकामा प्राधिकरणको लाइन विस्तार नभएमा पाँच वर्षसम्म पनि पुर्याउन सक्दैनौं भनेर पत्र पठाउन चुनौती समेत दिएका छन् ।

गाउँपालिकामा साना लघुजलविद्युतबाट स्थानीयले उज्यालो बालिरहेको भएपनि पालिकाले वर्षेनी मर्मत गरेर स्थानीयले उज्यालो बाल्ने परिस्थिति रहेको छ । पाँच वर्षेभित्र पालिकामा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने माग गर्दै कार्यालयको लापरबाही र अपहेलना गरेको प्रति आक्रोशित बनेका छन् ।

यति सम्बन्धित पक्षको ध्यान नगएमा पालिका प्रमुख र स्थानीय नागरिक भएको हैसियतले अन्य चरणबद्द आन्दोलन गर्ने समेत चेतावनी अध्यक्ष रोकायाले दिएका छन् । सिंगो पालिका नै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तारमा छुट्नु आश्चर्यको विषय हो । यसमा सम्बन्धित निकायको चरम लापरबाही देखिन्छ ।

प्रतिक्रिया