गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:५५

गौमुलका कर्मचारीले गरे प्रजातन्त्र दिवसको अवसरमा सरसफाई

कर्मचारीबीच भलिबल प्रतियोगिता सञ्चालन
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०७, २०८१
गौमुलका कर्मचारीले गरे प्रजातन्त्र दिवसको अवसरमा सरसफाई

बाजुरा : गौमुल गाउँपालिकाका कर्मचारीहरुले प्रजातन्त्र दिवसको अवसरमा सरसफाई गरेका छन् । ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार विहानै गाउँपालिकाको भवन परिसरको सरसफाइ गरेका हुन् । 

राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको सम्झनामा सरसफाई गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् । भवन वरिपरीको फोहोर संकलन गरी व्यवस्थापन गरिएको उनले बताए । 

दिवसको अवसरमा विहान सरसफाई गरिएकोमा बेलुका दिप प्रज्वलन गरिने भट्टले बताएका छन् । सरसफाई कार्यक्रममा कर्मचारीसहित राष्टपति रनिङ्ग शिल्डमा भाग लिने अभ्यास गरिरहेका विद्यार्थीहरुको पनि सहभागि रहेको थियो ।

त्यस्तै प्रजातन्त्र दिवसको अवसरमै पालिकाको आयोजनामा कर्मचारीबीच भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रजातन्त्रको पूर्व सन्ध्यामा मंगलबारबाट खेल क्षेत्रको विकासका लागि कर्मचारीबीच महिला, पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

गाउँपालिकाको केन्द्र घट्मुनास्थित खेलमैदानमा भलिबल प्रतियोगिता सञ्चालन गरिएको बताईएको छ । प्रतियोगितामा गाउँपालिकाका विभिन्न फाटमा कार्यरत कर्मचारीले छुट्टा छुट्टै टिम बनाएर खेलमा सहभागि भएका छन् ।

हिजोबाट सुरु भएको भलिबल प्रतियोगिता आज फाईनल खेलहरु खेलाएर सम्पन्न गरिने भएको छ । मनोरञ्जनसहित खेलतर्फ आकर्षण गराउने र कर्मचारीबीच आपसी सद्भाव कायम राख्न भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताएका छन् ।

प्रतिक्रिया