गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:११

सरकारले भुक्तानी दिन नसक्दा पुल निर्माण कार्य अलपत्र

बाजुरा
रमित वि.क.
बुधबार, माघ ३०, २०८१
सरकारले भुक्तानी दिन नसक्दा पुल निर्माण कार्य अलपत्र

बाजुरा ःठेक्का सम्झौता गरेर आयोजना अलपत्र पारेका थुप्रै समाचार हामी सुन्छौं, पढ्छौं । अझ कतिपय आयोजनाको समयावधि सकिँदा समेत सुरुवात नै नभएका उदाहरण बग्रेल्ती भेटिन्छन् ।

तर, निर्माण कम्पनीले समयमै काम सुरु गरेर समयावधि भन्दा अगावै काम सम्पन्न हुनेगरी गरेको कामको रकम सरकारले भुक्तानी दिन नसक्दा मानाकोट जोड्ने सिमधारा खोला पक्की पुल निर्माणको काम अलपत्र परेको छ ।

गौमुल गाउँपालिकाको केन्द्र नजिकपर्ने सिमधारा खोला पक्की पुल निर्माण कार्य अलपत्र परेपछि साविकको मानाकोट गाविस जोड्ने पुल निर्माण कार्य अधुरै छोडेर निर्माण कम्पनी हालसम्म फिर्ता भएको छैन् ।

नन्देगडा एस.एम.पी.जे.भी. धनगढी, कैलालीसंग २०७९ पुस २९ गते पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले सम्झौता गरेको थियो ।

सम्झौतापछि २०८० पुस १६ गतेदेखि निर्माण कार्य सुरु गरेको उक्त निर्माण कम्पनीले समयै सरकारले भुक्तानी दिन नसक्दा हालसम्म पुल निर्माण अस्तव्यस्त बनेको छ ।

सम्झौता रकम ७ करोड २८ लाख ६६ हजार ४ सय ४७ रुपियाँ ८५ पैसामा २०८१ असार ३० गतेसम्म निर्माण कार्य गरिसक्ने गरी सम्झौता गरिएको थियो ।

पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाका अनुसार १ करोड १९ लाख ३६ हजार ८ सय ८४ पैसा भुक्तानी लिएको भएपनि थप दिन नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।

संघीय सरकारको शसर्त अनुदानमा सिमधारा खोला पक्की पुल निर्माण गर्न लागिएको भएपनि भुक्तानीकै कारण रोकिएको स्वीकार थापाले गरेका छन् ।

ठेकेदार कम्पनीले तीव्र रुपमा काम गरेर सकाउने चाँसो राखेको भएपनि २ करोड ५ लाख बढी रकम भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको उनको भनाई रहेको छ ।

उता नन्देगडा एस.एम.पी.जे.भी. धनगढी, कैलालीका निर्माण कार्य गराउने व्यक्ति राज कुमार शिवाकोटीले सरकारले भुक्तानी नदिएका कारण अलपत्र परेको स्वीकार गरेका छन् ।

भुक्तानीका लागि पटक–पटक आग्रह गरेको भएपनि सरकारले भुक्तानी हालसम्म नगरेको उनले बताएका छन् । पक्की पुल निर्माण गरेर काम सम्झौता अवधि अगावै सक्ने लक्ष्य आफ्नो रहेको भएपनि भुक्तानीकै कारण समस्या सिर्जना भएको गौमुल खबर डटकमसंग बताएका छन् ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले स्थानीय पूर्वाधार विकास विभागमा गएर भुक्तानी दिन अनुरोध गरेको भएपनि हालसम्म नगरेको बताएका छन् ।

सिमधारा खोलामा पक्की पुल निर्माण हुने भएपछि खुसी भएका स्थानीय दुईवटा पिल्लर ठड्याएर काम अधुरो छोडेपछि वर्षादमा गाडी चढ्ने सपना सपनामै सीमित भएको छ । 
 

प्रतिक्रिया