गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:०८

कीर्तिचौर माविको शैक्षिक गुणस्तर सुधार नहुनुमा विद्यार्थीको कमजोरी भएको निष्कर्ष

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ २४, २०८१
कीर्तिचौर माविको शैक्षिक गुणस्तर सुधार नहुनुमा विद्यार्थीको कमजोरी भएको निष्कर्ष

बाजुरा ः शैक्षिक गुणस्तर सुधार नहुनुमा सबै भन्दा पहिलो कमजोरी विद्यार्थीको भएको निष्कर्ष निस्केको छ । कीर्तिचौर माध्यामिक विद्यालयमा बिहीबार भएको संवाद कार्यक्रममा यस्तो निष्कर्ष आएको हो ।

गरिबी र अभावका कारण शैक्षिक गुणस्तर सुधार भएन भन्ने कथन गल्ती भएको निचोडका साथ सबै पक्षको लगानी शैक्षिक क्षेत्रमा भएपनि त्यो नदेखिएको हो । स्थानीय सरकारदेखि विभिन्न साझेदार संघसंस्थाहरु समेत शैक्षिक गुणस्तरमा केन्द्रीत भएको भएपनि समग्र अवस्थामा सुधार नहुनुमा दोष विद्यार्थीको रहेको पाईएको छ ।

कार्यक्रममा बोल्दै गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले शैक्षिक गुणस्तर सुधारकै लागि स्थानीय सरकार क्रियाशील रहेको बताएका छन् । जति स्थानीय सरकार सक्रिय भएर गुणस्तर सुधारमा लागेको छ त्यो अनुसार सुधार नहुदाँ खिन्नताबोध हुन थालेको उल्लेख गरेकी छन् ।

गरिबी र अभावका कारण विद्यालयमा बालबालिका पढाउन नसक्ने अवस्थाका अभिभावकको लागि स्थानीय सरकारको स्रोत नसकेमा अन्य साझेदार संस्थासंग पहल गर्ने वचन दिएकी छन् । दोष एकले अर्कालाई थुपार्ने भन्दा पनि सबैको कमजोरी भएकोले सुधार्नतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएकी छन् ।

विद्यालयको अर्धवार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक तथा संवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम् वडा अध्यक्ष अमर विकले रातदिन खट्दा समेत सुधार नुहुनु दुःखको विषय भएको बताएका छन् ।

शैक्षिक गुणस्तर शून्य अवस्थाबाट विस्तारै माथि उठेको महसुस हुन थालेको भएपनि सोचे जस्तो परिणाम प्राप्त अझै हुन नसकेको बताएका छन् । बालबालिकाको भविष्य उज्ज्वल बनाउनकै लागि स्थानीय सरकारदेखि विद्यालय परिवार निरन्तर मैदानमा रहेको बताएका छन् ।

आवासीय विद्यालय निर्माणदेखि अन्य भौतिक संरचना निर्माणका लागि पहल जारी रहेकोले विद्यार्थीको पढाई सहजताका लागि सबै व्यवस्थापन गरिने बताएका छन् । विद्यालयले अर्धवार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको भएपनि केही बाहेक सन्तोषजनक परिणाम नआएको टिप्पणी गरिएको छ ।

तल्लो कक्षाहरुमा शैक्षिक गुणस्तर सुधार हुने तर माथिल्लो कक्षामा आउने बित्तिकै विद्यार्थीको पढाई कमजोर हुने गरेको शिक्षकहरुको प्रतिक्रिया रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले आफुहरुको समेत कमजोरी भएको हुनसक्ने तर गुणस्तर सुधार नहुनुमा बालबालिकाकै दोष भएको बताएका छन् ।

विद्यालयमा विगतको भन्दा वर्तमान अवस्था आकाश पातलको फरक भएको भएपनि सोचे जस्तो परिणाम विद्यार्थीहरुबाट प्राप्त नभएको उनीहरुको भनाई रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा सदस्य मंगल धामी, तुसार सार्की, जना सार्की लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाहले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने सहायक प्रधानाध्यापक मान बहादुर बडुवालले परीक्षाफल सार्वजनिक गरेका हुन् ।

विद्यालय प्राङ्गगणमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन शिक्षक नमराज न्यौपाने सञ्चालन गरेका हुन् । कार्यक्रममा २ सय ५० बढीको सहभागीता रहेको थियो । 

प्रतिक्रिया