बाजुरा : वनमा जतातै पाइने तिरखुडा झाङ्ग परेको फल दिने सानो जातको विरुवा हो । साना-साना दाना, तर धेरै फल्ने तिरखुडा मान्छेले फलको रुपमा खाने गर्दछन् । चैत, बैशाखको महिनामा वनमा पाकेर रुख नै कालो हुने गर्दछ ।
मानिसहरु गोठाला जादाँ वनमा रमाउँदै खाने गर्दछन् । भने बाख्राको आहारको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय बाजुराका केही स्थानीय तहका बासिन्दा भने धमाधम तिरखुडाका बोटहरु काटेर सखाप पार्न थालेका छन् ।
यति धेरै उपयोगि हुने तिरखुडाका बोटहरु काटेर सखाप पार्न थालेका वन संरक्षकहरुले बताएका छन् । तिरखुडाका जरा किन्ने मानिसहरु गाउँमा आउँन थालेपछि खोजी खोजी काट्न थालेका हुन् । जिल्लाको गौमुल गाउँपालिका वडा नं.४, ५ र ६ मा तिरखुडा, मार्जो र चुर्थोका रुखहरु काटेर संकल गरी बेच्ने गरेको पाईएको छ ।
बस्ती नजिक पाईने तिरखुडाका बोटसहित खनेर जरा समेत संकल गरी प्रतिकिलोको २० देखि ३० रुपैयाँ सम्ममा विक्रि गर्ने गरेको पाईएको वडा नं.४ का सदस्य मंगल धामीले बताएका छन् ।
तिरखुडाका रुखहरु ठुलो जंगलमा नपाईने तर बढीजसो बस्ती नजिक पाईन्छ । रुखका जराका लागि खन्ने गरेकाले कतिपय बस्ती नै जोखिममा पर्ने सम्भावना रहेको बताए । धमा धम खनेर जरा निकाल्न थालेपछि एकातिर वनको नोक्सानी भएको छ, भने अर्कोतिर पहिरोको जोखिम उत्तिकै बढेको छ । यसरी साना साना विरुवाहरु सखाप पार्दै जाने हो, भने सुख्खा खडेर पर्ने र पानीका मुहान समेत विस्तारै सुक्दै जाने सम्भावना रहेको उनको भनाइ छ ।
तिरखुडाका रुखहरु काट्न थालेपछि गौमुल गाउँपालिका ४ मा रहेको स्याउले सुन्दरी सामुदायिक वन उपभोक्ता समितिले भने तिरखुडाका विरुवा काट्नेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।
सामुदायिक वन चरीचरन मात्रै खुला गरिएको भएपनि केही दिन यता तिरखुडाको वीउ नै नरहने गरी बोट, जरा काटेर सखाप पार्न थालेको भन्दै अब यस्ता कार्यमा संलग्न जोकोहीलाई वन ऐन, नियम बमोजिम काुनुनी कारवाही गरिने वन उपभोक्त समिति अध्यक्ष कर्ण बहादुर बुढाले बताएका छन् ।
धेरै ठाउँका सामुदायिक वनमा भने चोरेर समेत ल्याउने गरेका छन् । भने कतिपय ठाउँमा वन नै रितीने गरी काट्ने गरेका छन् । वन जंगल संरक्षण गर्नु हामी सबैको दायित्व भित्र पर्छ, तर थप संरक्षण तथा हेरचाहका लागि गठित वन समूहहरु भने नोक्सानीप्रति बेखबर छन् । विक्रि गरेर आर्थिक आम्दानी गर्नु राम्रो कुरा हो, तर रुख काटेर नष्ट पार्ने र वन खनेर आफु–आफैलाई विभिन्न जोखिम निम्त्याउने कार्य गर्नु गलत रहेको वन उपभोक्ता समितिले जनाएका छन् ।
केही दिनका लागि आम्दानीको स्रोत भएपनि यसले भविष्यमा पार्न सक्ने असरका बारेमा पनि सबैले सोच्नेपर्ने देखिन्छ । तिरखुडाको जरा तथा बोटहरु किनेर गाडीका गाडी बाहिर निर्यात हुने गरेको छ । तर यसको खोजी निती भने न यहाँका सरकारी पक्षले गरेका छन्, नत डिभिजन वन कार्यालयले नै यसमा चासो देखाएको छ । वन नोक्सानी गरेर निर्यात भईरहेको अवैध कार्यप्रति सबै बेखर जस्तै बनेका छन् ।
प्रतिक्रिया