बाजुरा ः रैथाने बालीको प्रर्वद्धन गर्न सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविमा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । बडीमालिका नगरपालिका कृषि विकास शाखाको सहयोग तथा प्रर्वद्धन र मालिका नमुना माविको आयोजनामा रैथाने खाना महोत्सव आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईसंगसंगै व्यवसायीक सिप समेत प्रदान गर्ने उद्देश्यले रैथाने खाना महोत्सवको आयोजना गरिएको हो ।
खाना महोत्सवमा विद्यार्थीहरुले स्थानीय स्तरमा उत्पादन भएका रैथाने बाली कोदो, मकै, जौ, कागुनो, भटमास, केराउ, फापर लगायतका बालीहरुबाट विभिन्न रैथाने खानाका परिकारहरु उत्पादन गरेका छन् ।
मालिका माविको खेलमैदानमा कक्षा–८ मा अध्ययनरत विद्यार्थीहरुले ८ वटा स्टल निर्माण गरेर स्थानीय रैथाने बालीका १४ परिकारका स्थानीय खानाका परिकारहरु उत्पादन गरेर महोत्सव आयोजना गरिएको हो ।
महोत्सवले स्थानीय रैथाने खानाको बजारीकरण र रैथाने खानाको राष्ट्रिय स्तरसम्म प्रचारप्रसार तथा प्रवद्र्धनका लागि सहयोग पुग्ने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
महोत्सवमा विद्यार्थीहरुले रैथाने बालीबाट उत्पादन गरेका खानाका परिकारहरुले आगामी दिनमा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको प्रर्वद्धन विकासमा सहयोग हुने खड्काले बताएका छन् ।
मालिका माविको प्राङ्गणमा आयोजना गरिएको रैथाने खाना महोत्वसलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी, वडा नम्बर–६ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, मालिका माविका विव्यस अध्यक्ष काँशी विक, उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया, मालिका माविका निमित्त प्रधानाध्यापक धीरबहादुर दानी, बडीमालिका कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विक, नगरपालिकाका अन्य कर्मचारीहरुले अवलोकन गरेका छन् ।
महोत्सव स्थलमा पुगेका नगर प्रमुख अमर खड्का नेतृत्वको टोलीले विद्यार्थीहरुले रैथाने बालीबाट उत्पादन गरेका जेरी, कोदोको म.म., पकौडा, खिर, दालमोट, पुरी, लगायतका विभिन्न खानाका परिकारहरु खानुका साथै विद्यार्थीहरुको सीप विकासको लागि हौसला समेत प्रदान गरेका थिए ।
प्रतिक्रिया