गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३४
Dho

चण्ड र माधवलाई ओलीको व्यङ्ग्य– रोइकराइ गरेपछि बोल्न पाएछन्

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
चण्ड र माधवलाई ओलीको व्यङ्ग्य– रोइकराइ गरेपछि बोल्न पाएछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोइकराइ गरेपछि सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्न पाएको बताएका छन् ।

कैलालीको बौनियामा आयोजित एमालेको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै ओलीले काँग्रेसले सातै प्रदेशमा आयोजना हुने चुनावी सभामा प्रचण्ड र माधव नेपाललाई बोल्न नदिने तयारी गरेपछि बालुवाटारमा गएर उनीहरुले रोइकराइ गरेपछि बल्ल भरतपुरमा बोल्ने मौका पाएको बताए ।

‘मेरी छोरीको उम्मेदवारी छ मेयरमा, मेरी छोरीको क्षेत्रमा काँग्रेसका सभापतिले बोल्ने, मलाई जान नदिने ? भनेर प्रचण्डले भनेपछि प्रचण्ड र माधव नेपाल दुवैलाई बोल्न दिएको छ भरतपुरमा,’ ओलीले भने । एमालेमा अपमान भयो भनेर हिँडेका माधव नेपाललाई अहिले काँग्रेसले बोल्न नदिँदा अपमान महसुस नभएको भन्दै ओलीले व्यङ्ग्य गरे । उनले प्रचण्ड तत्कालीन नेकपाको अध्यक्ष हुँदा सिंहजस्तो भएपनि अहिले ‘भिजेको बिरालो होइन, मुसोजस्तो’ भएको बताए ।

उनले निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्न हरियो बनाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए । उनले भने, ‘रुखलाई हरियो बनाउन निर्वाचन आयोगले सूर्यलाई पनि हरियो बनाइदिएको छ ।’ सत्तारुढ गठबन्धनले महिलाको अधिकार खोसेको टिप्पणीसमेत उनले गरे । पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एउटा पुरुष र एउटा महिला हुनुपर्नेमा गठबन्धनले त्यो प्रावधानलाई लत्याएको आरोप उनले लगाए ।

उनले एमालेले देश बनाउने तर अरु दललाई देश विकासको वास्ता नरहेको बताए । ‘एमाले गाली कम्पिटिशनमा होइन, देश बनाउने काममा लागेको छ,’ ओलीले भने, ‘हुलाकी राजमार्ग बनाउन एमाले चाहियो, पूर्व–पश्चिम राजमार्ग चौडा बनाउन एमाले चाहियो, जनकपुरमा रेलको लिक बनाउन एमाले चाहियो ।’

प्रतिक्रिया