बाजुरा : गौमुल गाउँपालिकामा पालिका स्तरीय प्रारम्भिक परीक्षा (आज) मंगलबारबाट सुरु भएको छ । द्रुत सिकाईका लागि विद्यार्थीहरुको परीक्षणका लागि लिएको परीक्षाले थप सहज हुने विश्वास रहेको छ ।
कक्षागत रुपमा कमजोर विद्यार्थीहरुलाई अब्बल विद्यार्थी सो सरह बनाउने उद्देश्यका साथ परीक्षा सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले बताएका छन् ।
गत वर्षको (कोभिड १९) का कारण प्रभावित भएका विद्यार्थीहरुलाई समेत पढाईमा थप प्रेरित गरी अब्बल बनाउने गरी सबै विद्यालयमा परीक्षा सुरु भएको छ ।
कक्षा–३, ४ र ५ का लागि नेपाली र गणित, कक्षा–६ का लागि नेपाली, अंग्रेजी र गणित, कक्षा–७ र ८ का लागि नेपाली, अंग्रेजी र विज्ञान विषयको प्रारम्भिक परीक्षा लिईएको हो ।
कक्षामा विद्यार्थीको अवस्था मापन गरी थप अतिरिक्त कक्षा सञ्चालन गर्न पालिका स्तरीय प्रारम्भिक परीक्षाले सहज हुने गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष तथा कीर्तिचौर माविका विव्यस अध्यक्ष अमर विकले बताएका छन् ।
गाउँपालिका भरिका सम्पूर्ण विद्यालयमा राष्ट्रिय मापदण्ड अनुसार नै पालिका स्तरीय प्रारम्भिक परीक्षा आयोजना गरिएको हो । परीक्षाले शिक्षकलाई समेत विद्यार्थीहरुको अवस्था बुझ्न सहज हुने कीर्तिचौर माविका प्रधानाध्यापक खडक बहादुर शाहले बताएका छन् ।
कक्षागत रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई थप पढाईमा बलियो बनाउन र उनीहरुको अवस्थालाई माथि उकास्न सरकारले पालिका स्तरीय प्रारम्भिक परीक्षा सुरु गरेको हो ।
प्रतिक्रिया