बाजुरा : सरकारको हुलाक सेवालाई पुनः संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा बाजुरामा पनि कार्यान्वयन सुरु भएको छ । गौमुल गाउँपालिकामा बुधबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ ।
गौमुल गाउँपालिकाको सिमधारामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याईएको जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्ध बहादुर सोमैले बताएका छन् ।
उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली अनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने हुलाक कार्यालय गौमुलका प्रमुख नेत्रराज सन्ज्यालले बताएका छन् ।
जिल्लाका बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा कार्यालय स्थापना गरी सञ्चालनमा आएको छन् ।
त्यस्तै बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा समेत मंसिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याईने जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।
सरकारको नीति अनुसार ईलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुने भएका छन् । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’ को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।
प्रतिक्रिया