गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४८
Dho

गौमुल–२ मा पहिरो : तीन बस्ती उच्च जोखिममा, कुहुडा पहिरोको त्रास जारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १७, २०८१
गौमुल–२ मा पहिरो  :  तीन बस्ती उच्च जोखिममा, कुहुडा पहिरोको त्रास जारी

बाजुरा : गौमुल गाउँपालिका–२ मा पहिरोले तीन वटा बस्ती जोखिममा परेका छन् । निरन्तरको अविरल वर्षाका कारण देउ वडारमा पहिरो बगेपछि बस्ती उच्च जोखिममा परेका हुन् ।

निरन्तर पहिरो बग्न थालेपछि हनेमाटा र पाटाको बस्ती पहिरोको जोखिममा परेको र वर्खे बाली समेत बगाएको स्थानीय चक्र बहादुर बोहराले बताएका छन् । साथै खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको छ ।

शनिबार राति आएको पहिरोले बाटो भत्किाएपछि नाउली लगायतका गाउँको आवतजावत पनि ठप्प भएको उनले बताएका छन् । पहिरोले पाकिसकेको र पाक्न लागेको बाली मकै, सिमी, भटमास, पीडालुमा क्षति पुर्याएको छ ।

मेहनत गरेर लगाएको बाली भित्र्याउन नपाउँदै बगाएपछि त्यहाँका स्थानीय चिन्तित बनेका छन् । एकातिर बाली सहित जमिन बगाएको पीर त छदैछ, अर्कोतिर बस्ती नै पहिरोको जोखिममा परेपछि सिङ्गो गाउँका मानिसहरुमा थप चिन्ता निम्तिएको छ ।

त्यस्तै सोही वडाको कुहुडा भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । जोखिम बस्तीहरुको अनुगमन सहित सुरक्षित स्थानमा बसाल्न र क्षतिको एकीन विवरण तयार पार्न वडाका जनप्रतिनिधीको टोली जोखिम बस्तीहरुमा खटिएको वडा सदस्य प्रेम रोकायाले बताएका छन् ।

कुहुडामा निरन्तर पहिरो बग्न थालेपछि वडा कार्यालय सम्म आउन समेत समस्या भएको छ । विभिन्न सेवा लिनका लागि वडा केन्द्रमा आउन र वडाबाट गाउँ जान बन्द भएको बताईएको छ ।

यता वडाले भने जोखिम बस्तीलाई तत्काल व्यवस्थापन गर्न आवश्यक पहल कदमी गरिरहेको र जोखिम बस्तीमा वडा सदस्य र विपद् जोखिम सम्पर्क व्यक्तिहरु क्षतिको एकीन विवरण तथा घटनास्थलको वस्तुस्थिति बुझ्न खटाईएको वडा अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।

अझै केही दिन मौसम प्रतिकुल रहने भएकाले बाढी पहिरोको जोखिममा रहेको बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा बस्न र आवश्यक सर्तकता अपनाउन आग्रह गरिएको छ ।      
 

प्रतिक्रिया