गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२०
Dho

गौमुलमा हावाहुरी सहितको वर्षाले पुनः मकै बालीमा क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०२, २०८१
गौमुलमा हावाहुरी सहितको वर्षाले पुनः मकै बालीमा क्षति

बाजुरा : हावाहुरी सहितको वर्षाले गौमुल गाउँपालिका–६ का किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको छ । गएराति आएको वर्षाले टाँटाकोट, टुनीबाम्नी, सालीकोट र शान्तिटोल लगायत किसानले लगाएको मकै बालीमा क्षति पुगेको वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले बताएका छन् ।

हावाहुरी सहित आएको वर्षाले भर्खरै घोगा लागेका मकैका बोट भाँचेर सत्यानाश गरेको स्थानीय कृषक मिलन रोकायाले बताएका छन् । उनका अनुसार जमिनमा ढलेका मकैका बोट पानी–माटोमा लत्पतिएपछि कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

मकै सहितका बालीमा पुगेको क्षतिको विवरण संकलन गरेर पीडित किसानलाई राहत उपलब्ध गर्न पालिका सरकारमा पहल गर्ने वडा अध्यक्ष रोकायाको भनाई रहेको छ । वडाका सबै टोलमा हावाहुरील स्थानीयको बालीनालीमा ठुलो मात्रामा क्षति पुगेको छ ।

यसैबीच गौमुल गाउँपालिका–३ मा समेत क्षति भएको स्थानीय किसानहरुले बताएका छन् । गाउँपालिकाका सबै वडामा हावाहुरी सहितको वर्षाले ठुलो क्षति गरेको छ । 

केही पाकी सकेको र केही पाक्न बाँकी बालीमा क्षति पुगेको छ । हावाहुरीले मकै बालीमा क्षति पुगेको खबर आएकोले तत्काल क्षतिको विवरण एकिन गरी राहतको व्यवस्थापन गरिने गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।  
 

प्रतिक्रिया