गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

गौमुल गाउँपालिकाको बजेट ३४ करोड, सडक, शिक्षा र स्वास्थ्यलाई निरन्तरता

दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन सकियाे
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०८, २०८१
गौमुल गाउँपालिकाको बजेट ३४ करोड, सडक, शिक्षा र स्वास्थ्यलाई निरन्तरता

बाजुरा : गौमुल गाउँपालिकाले आगामी वर्षका लागि ३४ करोड ८३ लाख २७ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । गौमुल  गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् ।

कुल बजेटमा गौमुल गाउँपालिकाले आर्थि विकासतर्फ २ करोड ५ लाख ८० हजार, सामाजिक विकासतर्फ २१ करोड ५० लाख ४० हजार बजेट विनियोजन गरेको छ ।  

गौमुलले पूर्वाधार विकासतर्फ २ करोड २० लाख ५० हजार, सुशासन तथा अन्तरसम्बन्धित सेवा प्रवाहतर्फ १८ लाख १० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ८ करोड ८८ लाख ४७ हजार बजेट विनियोजन गरेको अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

कुल विनियोजन गरिएको ३४ करोड ८३ लाख २७ हजार मध्ये चालुतर्फ २५ करोड ६१ लाख २ हजार ५ सय ४ रुपियाँ ७३.५२ प्रतिशत र पुँजीगत खर्चतर्फ ९ करोड २२ लाख २४ हजार ४ सय ९६ रुपियाँ २६.४८ प्रतिशत विनियोजन गरिएको छ । 

आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडिबुटी र पर्यटन प्रवद्र्धन सहकारी मार्फत कृषीजन्य ब्यापार, भन्ने गाउँ सभाको नारा तय गरिएको थियो । पालिकाले तीन स अर्थात शिक्षा, स्वास्थ्य र सडकलाई मुख्य प्राथमिकतामा राखेको प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

गाउँ सभामा पालिकाका सवल पक्षहरु ९५ प्रतिशत खानेपानीमा पहुँच पुगेको, प्रत्येक वडामा आधारभूत स्वास्थ्यको व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको, स्वस्थ पानी पिउनका लागि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा पानी शुद्धीकरणका लागि फिल्टर वितरण गरिएको, साक्षर गाउँपालिका घोषणा गरिएको बताईएको छ । 

पालिकाले भौतिक पूर्वाधारतर्फ भुकूम्पबाट प्रभावित बस्तीहरुलाई आगामी १ वर्षभित्र स्थानान्तरण तथा आवासको व्यवस्था गरिसक्ने, सबै टोलमा सडक पुरयाउन मोटरबाटो जोड्न सडक योजना तयार गरिने, गाउँपालिका भित्रका झोलुङ्गे पुलहरु आवश्यकपर्ने ठाउँहरुमा आगामी तीन वर्ष भित्रमा निर्माण गर्ने, २ वर्षभित्रमा गाउँपालिकाको केन्द्रमा खेलमैदान निर्माण गरी जिल्ला स्तरको खेलकुद सञ्चालनका लागि पहल गरिने घोषणा गरिएको छ । 

आर्थिक विकासतर्फ कृषकहरुलाई व्यवसाय अनुसारको अनुदान उपलब्ध गराईने भएको छ । एक घर, एक टनेल हाउस उपलब्ध गराईने, कृषि बाली बिमा निःशुल्क गराईने, पालिका स्तरमा कृषि संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरी सञ्चालन गरिने भएको छ । 

त्यस्तै उत्पादनलाई बजारसम्म पुर्याउन अनुदानको व्यवस्था गर्ने, सबै प्रकारका विउविजन निः शुल्क उपलब्ध गराइने, एक घर, एक जडीबुटी नर्सरीको नीति लिएर राहत कार्यक्रमको व्यवस्था गर्ने, एक घर दुई बारी तोरी, पाँच घार मौरी अनिवार्य गरिने, गाउँपालिका स्तरमा विउ बैंक स्थापना गरी बाह्य जिल्ला तथा पालिकामा निर्यात गरिने, कृषि उपज संकलन तथा बजारीकरणका लागि स्थानीय स्तरमा कम्तीमा १५ युवाहरुलाई रोजगारी सिर्जना गर्न पहल गरिने नीति लिईएको छ । 

पर्यटनतर्फ मानव निर्मित स्थलहरु निर्माण तथा प्राकृतिक स्थलहरुको खोजी र संरक्षण गरिने, गौमुल गाउँपालिका ४ मा निर्माणाधीन बृहत फनपार्क आगामी एक वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने, सम्भावित पर्यटकीय क्षेत्रको टोल नजिक होम स्टेका लागि सम्भावित अध्ययन गरी पहल कदमी अगाडी बढाउने नीतिमा उल्लेख गरिएको छ । 

उद्योग तथा वाणिज्य तथा सहकारीतर्फ एक गाउँ एक उत्पादन, एक घर एक उद्यमको मोडलबाट अगाडी बढीने, पालिका भित्र एउटा अर्गानिक अचार उद्योग स्थापना गरिने, अर्गानिक मसला उद्योग स्थापना गरी नीजि क्षेत्रसग साझेदारी गरिने, पालिकाका हरेक परिवारको वार्षिक आम्दानी दुई लाख पु¥याईने, हरेक व्यक्ति सहकारीमा र सहकारी मार्फत व्यवसायको नीति लिईने र फलाम खानीको अनुसन्धान तथा उत्खनन कार्यलाई अगाडी बढाईने नीति अघि सारिएको छ । 

सामाजिक विकास तर्फ खानेपानी तथा सरसफाईमा एक घर, एक धारा योजना अगाडी बढाइने छ । आगामी ४ वर्षभित्र सबै घरमा धारा पुर्याईने, हरेक घरलाई सुन्दर बनाउन सुन्दर घर सहयोग कार्यक्रम लागू गरिने, सुन्दर गाउँ बनाउन हरेक घरको आँगनमा बगैचा तथा वृक्षारोपण कार्यक्रम लागू गरिने, महिनावारीलाई सुरक्षित तथा व्यवस्थितत बनाउन हरेक टोलमा सेनेटरी प्याड बंैक स्थापना गरिने नीति गाउँ सभामा प्रस्तुत गरिएको छ । 

स्वास्थ्यतर्फ हरेक परिवारलाई स्वास्थ्य बिमा अनिवार्य गराईने, पालिकाबाट सुविधा प्राप्त गर्ने सबैलाई अनिवार्य स्वास्थ्य बिमा गराईने, ११० प्रकारका औषधी व्यवस्थापन र ठुलो उपचारलाई सहयोग कार्यक्रम ल्याइने, महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सुविधालाई वैज्ञानिक ढंगले व्यवस्थापन गरिने, वडा नम्बर ६ मा १० शैया अस्पताल स्थापना गरिनेछ भने वडा नम्बर २ मालीवनमा निर्माणाधीन ५० शैया अस्पताल १ वर्षभित्र सञ्चालनमा ल्याईने भएको छ । 

शिक्षातर्फ विद्यार्थीहरुलाई घोकाउने भन्दा पढ्ने खोज अनुसन्धान विधिलाई बढवा दिईने विद्यालय स्तरबाटै बालबालिकाको चौतर्फी विकासका लागि खेलकुद, नृत्य, गायन तथा अन्य रचनात्मक क्रियाकलापमैत्री वातावरण सिर्जना गरिने नीतिमा उल्लेख गरिएको छ ।
आगामी एक वर्षभित्रमा कक्षा १ बाट अनिवार्य अंग्रेजी माध्याम लागू गरिने, विषयगत शिक्षक मिलान तथा शिक्षकद्धारा ज्ञान आदान प्रदान गर्ने वातावरण सिर्जना गरिने, सम्पूर्ण विद्यालयमा दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न उचित पारिश्रमिक सहित भान्से र भान्सा कोठा व्यवस्थापन गरिने भएको छ ।

संस्कृतितर्फ लोपउन्मुख भेषभुषा तथा संस्कृतिको जगेर्ना गर्न साँकृतिक सप्ताह मनाउने व्यवस्था गरिने, हरेक वर्ष साँस्कृतिक महोत्सव मनाईने भएको छ । युवा तथा खेलकुदतर्फ युवाहरुलाई सिपयुक्त बनाई उत्पादन मूलक कार्यमा संलग्न गराईने भएको, पालिकामा वर्षको एकपटक युवा सिप परीक्षण सम्मेलन गरिने भने युवाहरुको प्रोत्साहनको लागि वर्षमा एकपटक खेल महोत्सव गराईने भएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ सबै प्रकारका विभेद अन्त्यका लागि विशेष कार्यक्रम ल्याईने, सबै दलित समुदायका सबै परिवारका लागि एक परिवार एक आयआर्जन कार्यक्रम ल्याईने, भूमिहिन दलित तथा विपन्न परिवारलाई जमिनको व्यवस्था गरिने, दलित तथा विपन्न समुदायका उच्च शिक्षा अध्ययनरत छात्राछात्रहरुलाई छात्रवृद्धीमा विशेष प्राथमिकता दिईने, महिलाहरुलाई पुरुष सरहको समान सहभागीतामा पुर्याउन महिला लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने र महिला अनूकुल नीति बनाएर अनुदानका कार्यक्रम लागू गरिने, एक घर, एक महिला क्याप्टन, एक टोल, एक महिला समूह, एक वडा एक महिला मञ्च गठन गरिने, ज्येष्ठ नागरिक मञ्च गठन गरिने र ज्येष्ठ नागरिक गफ चौतारी निर्माण गरिने, सामाजिक सुरक्षा भत्तालाई खातामा भुक्तानी गर्ने गरी बैठक मार्फत सबैको घरमै पुराउने व्यवस्था गरिने भएको छ । 

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष सीता थापाले प्रस्तुत गरेको आगामी वर्षको प्रस्तावित बजेट सर्वसम्मत पारित गरिएको छ । गाउँपालिकाका सभा हलमा सञ्चालन भएको गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, गाउँ सभा सदस्य, कर्मचारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया