गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५०
Dho

नरेन्द्र मोदीको मन्त्रिपरिषद्‌मा को–को बन्दैछन् मन्त्री ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २७, २०८१
नरेन्द्र मोदीको मन्त्रिपरिषद्‌मा को–को बन्दैछन् मन्त्री ?

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो । लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् ।

यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।

भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेको छ । गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ ।

सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन ।

को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।मन्त्री पदको भागबण्डा मिलाउन राति अबेरसम्म अमित शाहको निवासमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुको बैठक बसेको थियो । अघिल्ला दिनहरुमा लगातार बैठक र छलफल भइरहेको थियो ।

प्रधानमन्त्री प्रचण्ड पनि नयाँदिल्ली जाँदै

मोदीको शपथ ग्रहण समारोहलाई लक्षित गरी भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि मोदीको शपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाँदैछन् । श्रीलंका, मालदिभ्स, बंगलादेश, मोरिसस, भुटान लगायतका देशका सरकार तथा राष्ट्रप्रमु्खहरु पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया