गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

सुदूरपश्चिममा सरकार विस्तार गर्न केन्द्रको सहमति कुर्दै मुख्यमन्त्री सोडारी

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ १७, २०८१
सुदूरपश्चिममा सरकार विस्तार गर्न केन्द्रको सहमति कुर्दै मुख्यमन्त्री सोडारी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्न मुख्यमन्त्रीले केन्द्रको सहमति कुरेका छन्। उनले विश्वासको मत पाउने वित्तिकै सरकार विस्तार गर्ने योजना बनाए पनि नेकपा माओवादी केन्द्र र एमालेले नाम नपठाउँदा अहिलेसम्म मन्त्रीमण्डल विस्तार हुन नसकेको हो।

यसका लागि केन्द्रको सहमति कुर्नुपर्ने बाध्यता मुख्यमन्त्री सामु देखा परेको छ। माओवादी र एमालेले मन्त्रीका लागि नाम नपठाउँदा मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म सरकार विस्तार हुन नसकेको हो।

मुख्यमन्त्री दीर्घबहादुर सोडारी सरकार विस्तारका लागि मन्त्रालय भागबन्डाबारे केन्द्रमा गठबन्धनको शीर्ष तहको सहमति पर्खिरहेका छन्। सरकार विस्तार हुन नसक्दा बजेट निर्माणका बेला प्रदेशका चारवटा मन्त्रालय मन्त्रीविहीन छन्।

एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत जेठ ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुईजना मन्त्री छन्। मुख्यमन्त्रीको शपथ लिएकै दिन सोडारीले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए।

बैशाख १८ गने नागरिक उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए। त्यसपछि सरकार थप विस्तार हुन सकेको छैन।

मन्त्रालय भागबन्डाको टुंगो केन्द्रबाटै हुने भएकाले सरकार विस्तारमा केही ढिलाइ भएको गठबन्धनका नेताहरूले बताएका छन्। मुख्यमन्त्री सोडारी सरकार विस्तारबारे गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गरेर फर्किएका छन्।

एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले अब एक–दुई दिनमै सरकारले पूर्णता पाउने दाबी गरेका छन्। प्रदेशमा अहिले चार मन्त्रालय रिक्त छन्।

सरकारलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा सहभागी गराउन गठबन्धन सहमत छ। भागबन्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत, सिँचाइ तथा यातायात क्षेत्रलाई समेटेर छुट्टै मन्त्रालय बनाउने तयारी छ।

आर्थिक मामिला मन्त्रालयमा एमाले र माओवादीले दाबी गरेका छन्। सरकार विस्तारको तयारी भइरहँदा मन्त्रीका लागि आकांक्षीले आ–आफ्नो पार्टीको नेतृत्व तहमा ‘लबिङ’ बढाएका छन्।

मन्त्रीका लागि माओवादीबाट दलका उपनेता रावल, ओमविक्रम भाट, शिवसिंह ओली, लक्ष्मी विकको नाम चर्चामा छ। अघिल्लो सरकारका मन्त्री झपट साउद र रमेशसिंह धामीलाई दोहो¥याउने विषयमा पनि पार्टीमा छलफल भइरहेको छ।

एमालेमा सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, धर्मराज पाठक, वीरबहादुर थापा र दमनबहादुर भण्डारीमध्येबाट मन्त्री हुने चर्चा समेत छ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने सरकारमा सहभागिताको विषयमा दलले निर्णय नगरेको बताए। पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेशमा आफूहरू अगाडी बढ्ने उनको भनाई छ।

प्रतिक्रिया