गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०८
Dho

बाजुरामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०९, २०८१
बाजुरामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकामा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित भएका छन् । बुढीगंगा नगरपालिकाको आयोजना नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यसहित सञ्चालन गरिएको शिविरबाट बुढीगंगा सहीत बडीमालिका नगरपालि, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र छिमेकी जिल्ला अछामका नागरिकले समेत सेवा लिएको नगर जनस्वास्थ्य निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिएका छन् ।

दुई दिने निःशुल्क आँखा शिविर बाजुरा स्वास्थ्य चौकी टाँटे र भानुदय स्कुलमा सञ्चालन गरिएको थियो । शिविरमा ४ पालिका र एक छिमेकी जिल्लाका गरी पाँच सय ९२ जनाले आँखा उपचार गराएको जैशीले बताए ।  

शिविरमा आँखा जाँच गराएकामध्ये मोतिविन्दु पहिचान भएका विरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए । शिविरमा १३६ जनाको मोतिविन्दुको शल्यक्रिया र १३० जनालाई चस्मा वितरण गरिएको थियो । 

नागरिकलाई गाउँमै निःशुल्क तथा सहज स्वास्थ्य सेवा उपलब्ध गर्न र आर्थिक लगायतका विभिन्न समस्याले आँखाको उपचार गर्न सुविधा सम्पन्न अस्पतालसम्म जान नसकेका विरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नगर उपप्रमुख माया (खड्का) कुवँरले बताएकी छन् ।

शिविरमा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्त, संयोजक गणेश चौधरी, बाजुरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएका थिए । आर्थिक अवस्था कमजोर भएका नागरिकले गाउँमै निःशुल्क उपचार पाएपछि हर्षित भएका छन् । 

आँखाको मोतिविन्तु र अन्य समस्याले अन्धकार जीवन विताईरहेका नागरिकले गाउँमै शिविरबाट शल्यक्रिया सहीतको उपचार सेवा पाएर आँखा देख्ने भएपछि झन खुशी भएका छन् । स्वास्थ्य सेवा छिटो, छरितो, भरपर्दो रुपले विपन्न नागरिकलाई लक्षित गर्दै नगरपालिभित्र निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिदै आएको र गर्दै जाने नगर उपप्रमुख माया कुवँरले बताएकी छन् ।

प्रतिक्रिया