गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१४
Dho

असिनापानीले बाजुराको गौमुलमा तरकारी तथा गहुँ बाली नष्ट

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०२, २०८१
असिनापानीले बाजुराको गौमुलमा तरकारी तथा गहुँ बाली नष्ट

बाजुरा : गौमुल गाउँपलिकामा परेको असिनापानीले किसान प्रत्यक्ष प्रभावित भएका छन् । मंगलबार दिउँसो ३ बजेको समयमा वडा नं.१ मा १ फिटसम्म असिना परेपछि हिउँदे बालीनाली पूर्णरुपमा नष्ट भएको हो । 

किसानले लगाएको तरकारी  गहुँ, जौंबाली पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् । वडाका सबै बस्तीहरुमा असिनापानीले केही मात्रा क्षति गरेपनि सबैभन्दा बढी अम्लिसको भित्रखोला भन्ने गाउँमा बाली पूर्ण रुपमा नष्ट गरेको उनले बताए ।

असिनाले आफूहरुले लगाएको बाली पूर्ण रुपमा नष्ट गरेको गौमुल गाउँपालिका–१ का किसान नीर रोकायाले बताएका छन् । मेहनत गरेर लगाएको हिउँदे केही पनि बचेन्, पाकेको बाली भित्र्याउँन तयारी अवस्थामा थियौं, गहुँ काट्न सुरु गर्न लागेकै बेला गहुँ तथा तरकारी पुरै नष्ट भयो । 

आखाँ अगाडी छिनभरमै असिनाले आफूले लगाएको बाली नष्ट गरेको अर्का किसान कलक रोकायाले बताएका छन् । भित्र्याउन लागेको बालीलाई ढालेर सोतरै बनाएको बताउँदै सिंगो गाउँमा ठुलो क्षति पुगेको गुनासो सुनाए । 

पाकेको जेठासी बालीमा क्षति पुगेपछि किसानलाई खाद्यान्न अभाव हुने समस्या देखिएको छ । क्षतिका कारण सिंगो गाउँका किसान चिन्तित भएका छन् । असिनापानीले गहुँ, जौं तथा आलुमा ठुलो क्षति पुर्याएको छ । 

गहुँ, जौँ असिनाले झारिदिएपछि खेतबारीमा नल (डाँठ) मात्रै देखिने गरेको छ । आलुका पनि पात चुटेर डाठ मात्रै राखेको किसनाले बताएका छन् । यस क्षेत्रमा सबैभन्दा बढी आलु लगाउँने गर्छन् । लगाएको आलु नै असिनाले क्षति गरेपछि त्यहाँका किसना झन चिन्तित बनेका छन् । 

यता गौमुल गाउँपालिकाले भने क्षतिको विवरण तयार पार्न क्षतिग्रस्त वडामा कर्मचारी र प्रहरीको टोली लगाउँने बताएको छ । क्षतिको एकीन विवरणपछि मात्रै आवश्यक राहत उपलब्ध गर्ने गाउँपालिकाको तयारी रहेको छ ।

प्रतिक्रिया