गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३०
Dho

बाजुरामा असिनापानीले हिउँदे बाली नष्ट, किसान चिन्तित

प्रमित वि.क. प्रमित वि.क.
बुधबार, बैशाख २६, २०८१
बाजुरामा असिनापानीले हिउँदे बाली नष्ट, किसान चिन्तित

बाजुरा : हावाहुरीसहित आएको असिनापानीले जिल्लाको बुढीनन्दा नगरपालिकामा लाखौंको बाली नष्ट गरेको छ । मंगलबार बेलुका ५ बजे पेरेको असिनापानीले पाकिसकेको गहुँ, जौं, तरकारी र फलफूल खेती नष्ट गरिदिएको हो ।

हिउँदे बाली पाकेर भित्र्याउने समयमा असिनापानीले नष्ट गरेपछि किसान चिन्तित भएका छन् । करिब चार घण्टाको असिनापानीले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा ठुलो क्षति पु¥याएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका‐१, २, ३, ७ लगायत अन्य वडामा पनि असिना पानीले खेतमा पाकेको गहुँबाली चुटेर नष्ट गरेको नगर प्रवक्ता जंगवीर रोकायाले बताएका छन् । मेहनत लगाएर लगाएको हिउँदे बाली एक घण्टामै स्वहा भएपछि भोकमरीको चिन्ता निम्तिएको छ । 

हिउँदे बाली भित्र्याउन ठिक तयारी अवस्थामा रहेका किसान बाली भित्र्याउन नपाउँदै असिनापानीले खेतबारीमै नष्ट पारेपछि के खाउँला भन्ने चिन्ता लाग्न थालेको किसान बताएका छन् । असिनापानीले पु¥याएको क्षतिको एकीन विवरण नआएपनि हिउँदे बालीको रुपमा लगाएको गहुँ, जौं बाली नष्ट भएको बताईएको छ । 

भित्र्याउनै लागेको अवस्थामा रहेको गहुँ बालीलाई असिनाले झारिदियो । वर्षदिन सम्म खाने अन्न भित्र्याउने बेला सखाप परिदियो, अब कसरी छाक टार्ने हो भन्दै बुढीनन्दाका हजारौं किसान चिन्ता परेका छन् । 

गहुँ असिनाले झारिदिएपछि खेतबारीमा नल (डाँठ) मात्रै देखिने गरेको छ । बाली सप्रेको बेला समेत खाद्यान्न अभाव हुने उत्तरी पुर्वी क्षेत्रमा यसपाली परेको असिनापानीले झन ठुलो क्षतिसंगै समस्या निम्तिएको बुढीनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताए ।

बुढीनन्दा नगरपालिका लगायत बडीमालिका नगरपालिका, गौमुल गाउँपालिकाका केही ठाउँमा हावाहुरीसंगै आएको असिनापानीले बालीमा क्षति पु¥याएको बताईएको छ । 

बुढीनन्दा नगरपालिकामा भने ठुलो मात्रामै क्षति पु¥याएको र उपप्रमुख रामबहादुर बोहराको संयोजकत्वमा कर्मचारी र प्रहरीको टोली क्षतिको विवरण तयार पार्न क्षतिग्रत वडामा गएको छ । क्षतिको एकीन विवरणपछि आवश्यक राहत उपलब्ध गर्ने नगरपालिकाको तयारी रहेको छ ।

प्रतिक्रिया