गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३४
Dho

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १७, २०८१
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा : बाजुरामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव देखिएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गएपनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । 

जथाभावी रुपमा छोडिएका कुकुर, स्याल लगायतका घरपालुवा र जंगली जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरेपनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनु पर्ने बाध्यता रहेकोे जनस्वास्थ्य अधिकृत चन्दले बताए । 

जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको हो । लक्ष्यअनुसार खोप खरिद हुने भएपनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दको भनाइ ।

उनले भने रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ, पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । तर खोप अभावले सेवा लिन आएका नागरिकलाई त्यत्तिकै घर पठाउनु परेको छ । 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कर्णाली प्रदेशका हुम्ला, मुगु, कालीको बासिन्दा उपचारका लागि आउने गर्दछन् । स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताएका छन् । 

स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको उनले बताए । वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उनको भनाइ छ । स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको बताएका छन् । 

प्रतिक्रिया