गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२३
Dho

बाजुराका लागि आजदेखि पाठ्यपुस्तक वितरण सुरु

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १३, २०८०
बाजुराका लागि आजदेखि पाठ्यपुस्तक वितरण सुरु

धनगढी : हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने समयमै पाठ्यपुस्तक वितरण सुरु भएको छ। प्रदेशको सबैभन्दा दुर्गममा रहेको बाजुरा जिल्लाका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण सुरु भएको हो।

हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने शैक्षिक सत्र सुरु हुन अगावै पाठ्यपुस्तक वितरण सुरु भएको हो। बाजुराको अतिविकट कोल्टी क्षेत्रका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण भएका छन्। कोल्टी क्षेत्रको स्वामीकात्तिक खापर गाउँपालिकाका लागि पुस्तक व्यवसायी नरेश जंग शाहीले २५ लाख मूल्यका पुस्तक लगेका छन्। ‘यसपालि गतवर्षको भन्दा एक महिना अगाडि नै पाठ्यपुस्तक पाएका छौं। चाहिने जति सेटमै पुस्तक पाइएका पनि छन्। यसपालि विद्यार्थीहरूले समयमै पुस्तक पाउनेछन्’, शाहीले भने, ‘जनक शिक्षाको यसपालिको योजना राम्रो लाग्यो।’

जनक शिक्षाले चैत १५ र १६ गते दार्चला, १७ गते बझाङ, १८ गते बैतडी, १९ गते अछाम, २० गते डोटी, २१ गते डडेलधुरा, २२,२३ र २४ गते कञ्चनपुर र चैत २५,२६ र २७ गते कैलालीका व्यवसायीलाई पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको छ। बाजुराकै त्रिवेणी नगरपालिकाका लागि पुस्तक व्यवसायी टेक बहादुर थापाले पनि पुस्तक लगेका छन्। ‘गतवर्ष वैशाखको मध्यतिर पनि पुरै सेटमा पुस्तक पाइएको थिएन, यसपालि समय तालिका तोकेरै पुस्तक पाइएकाले विगतको जस्तो अभाव नहुने आशा पलाएको छ’, थापाले भने।

बझाङको केदार स्युगाउँपालिकाका पुस्तक व्यवसायी प्रयागराज धामी पनि पुस्तक लिन भनेर धनगढीमा रहेको जनक शिक्षा सामाग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालय पुगेका छन्। यद्यपि बझाङका लागि भने १७ गते मात्रै पुस्तक पाइनेछ। ‘१७ गते पुस्तक पाइए पनि त्यहाँको माग अनुसारको पुस्तकको तयारी गरेको छु। जनक शिक्षाले पर्याप्त रुपमा सेटमै पुस्तक रहेको जनाएको छ’ उनले भने।

जनक शिक्षा सामग्री केन्द्र, सुदूरपश्चिमले यसपालि सुदूरपश्चिमका लागि १९ लाख थान पुस्तक आवश्यक रहेको अनुमान गरेको छ। गत शैक्षिक सत्रमा १७ लाख पुस्तक खपत भएका आधारमा यसवर्षको अनुमानित पुस्तकको संख्या तय गरिएको हो। यसवर्ष पुस्तक व्यवसायी र जनक शिक्षाका पदाधिकारीबीच पुस्तक वितरणमा सहजताका लागि बैठकहरू पनि भएका छन्। ‘यसपालि हामीले १९ लाख थान पुस्तक खपतको अनुमान गरेका छौं। त्यस मध्ये ८० प्रतिशत किताब गोदाममा आइसकेका छन्। तर गोदाम कम क्षमताको भएकाले भण्डारण गर्न सकिएको छैन’, जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख राम बहादुर कुँवरले भने।

उनले केन्द्रमा पुस्तक प्रकाशित भइसके पनि गोदाम अभावका कारण सतप्रतिशत भण्डारण गर्न नसकिएको बताए। ‘तर पनि २० प्रतिशत मात्रै पुस्तक आउन बाँकी छ। बाजुरा र बझाङका पुस्तक जाने बित्तिकै गोदाममा ठाउँ खाली भइहाल्छ। अनि बाँकी रहेका २० प्रतिशत पुस्तक पनि आइहाल्छन’, कुँवरले भने।

उनले यसपालि पाठ्यपुस्तकको अभाव नहुने दाबी गरे। ‘यसपालि जनक शिक्षासँग कागजको पनि कमी छैन। गत वर्ष नै छाप्ने मेसिन थपिएका छन्। ब्यान्डिङ मेसिनको अभाव थियो, २ वटा ब्यान्डिङ मेसिन पनि थपिएका छन्। यसपालि हामीले शैक्षिक सत्र सुरु हुन अगावै तालिका बनाएर पुस्तक वितरण पनि सुरु गरिसकेका छौं’ कुवरले भने। ‘यसपालि पुस्तकको अभाव हुन दिने छैन।’

जनक शिक्षाले यसपालि कक्षा ३ र ४ का पाठ्यपुस्तक पनि २० प्रतिशत कमिसनमा बिक्री सुरु गरेको छ। यसअघि कक्षा १ देखि ५ सम्मका पुस्तक निजी क्षेत्रलाई छपाइको जिम्मा दिइएको थियो। ‘निजी क्षेत्रले समयमा पुस्तक छाप्न पनि सकेन। हामी निजी क्षेत्रको भर पर्ने तर उनीहरूले समयमा पुस्तक वितरण नगरेका कारण आलोचना भयो। यसपालि जनक शिक्षाले ३ र ४ को पनि पुस्तक वितरण गररहेको छ’ कुवरले भने।

जनक शिक्षाले सामुदायिक विद्यालयका अंग्रेजी माध्यमका पुस्तक पनि पर्याप्त मात्रामा रहेका जनाएको छ। ‘अंग्रजी माध्यमका पुस्तक पनि सेट मै आएका छन्। ऐच्छिक बाहेक अहिले पर्याप्त पुस्तक आएका छन’, कुँवरले भने। साभार अन्नपूर्ण पाेस्टबाट..

प्रतिक्रिया