बाजुरा : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका छन् । स्ववियूद्वारा आयोजित सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापन कार्यक्रममा उहाँले सो कुरा बताएका हाे ।
स्ववियु सभापति इश्वर कुमार थापाको अध्यक्षमा भएको सप्ताहव्यापी खेलकुद कार्यक्रममा उत्कृष्ट खेलाडीलाई सो अवसरमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ ।
सो अवसरमा क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल, सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख रामलाल तामाङ, अनेरास्ववियूका नेता पङ्कज भण्डारी, पेशल फुयाँल, अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष दीपेन्द्र शाही लगायतको सहभागिता रहेकाे थियो ।
फागुन २१ गतेबाट सुरु भएको कार्यक्रममा विभिन्न विद्याका खेलहरू सञ्चालन गरिएका थिए । जसमा भलिबल छात्रछात्रा, फुटबल छात्रछात्रा, टेबलटेनिस छात्रछात्रा, चेस, डोरी तान्ने, एथलेटिक्सतर्फ हाइजम्प, लङ्ग्जम्प, सटफुट लामो दौड, छोटो दौड, त्यस्तै रचनात्मकतर्फ वक्तृत्वकला निबन्ध लेखन हाजिर जवाफ सञ्चालन गरिएकाे थिए ।
खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल प्रमाणपत्र साथै ट्रफी समेत वितरण गरिएको छ । महेन्द्ररत्न क्याम्पसमा अध्ययनरत मध्ये करिब ५०० विद्यार्थीले खेलमा सहभागिता जनाएका थिए । उद्घाटन समारोहमा स्ववियु र प्राध्यापक सङ्घबिच मैत्रीपूर्ण भलिबल खेल समेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया