गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४८
Dho

मेलमिलाप गराएको विवाद, पुनः कर्मचारीकै कारण सामाजिक सञ्जालमा भाइरल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १९, २०८०
मेलमिलाप गराएको विवाद, पुनः  कर्मचारीकै कारण सामाजिक सञ्जालमा भाइरल

बाजुरा : बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । पालिकाको मेड्पा कार्यक्रममा कार्यरत दुई कर्मचारीबीच कुटाकुट भएको हो । घटना अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।  मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र अर्का कर्मचारी कविता सूर्यबंशी बीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको हो ।

दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन् । कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको हो । विवादले पछि अर्को रुप लिएको छ ।

कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेको र पछि प्रतिवादमा रञ्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ । कुटाकुट पछि सूर्यबंशीलाई बढी चोट लागेको छ । दुबै जनाले एक आपसमा कुटाकुट गरेपनि रञ्जीताको प्रहारले सूर्यबंशीलाई बढी चोट लागेको बुझीएको छ ।

पछि कार्यालय प्रमुख समेत रहेका प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुबै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए । दुबै जनाले मिलेर काम गर्ने, एकले अर्कालाई सम्मान र सहयोग गर्ने सहमति पनि भएको थियो । सहमतिको बसाइ भइरहेकै बेला बीचमै एकाएक सूर्यबंशी ढलेपछि उपचारका लागि बाजुरा जिल्ला अस्पताल लगिएको थियो । स्वयम रञ्जीता शाही सहीतका कर्मचारी गएर उपचार गराएको श्रोतको दाबी छ ।

कुटाकुट भएकै बेला केही कर्मचारीले विवाद समाधान तर्फ नलागि उल्टै भिडियो खिच्ने काम गरेको पाइएको छ । भिडियो सार्वजनिक भएपछि घटना सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । घटना भएको दिन नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापा जिल्ला बाहिर थिए । दुबै जनाले सामाजिक सञ्जालमा भिडियो आइसकेपछि मात्रै जानकारी पाएको बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आपसी समझदारी गरिसकेको विषय हो । एक जनालाई बढी चोट लागेको भएपनि आपसमा दुबै जनाले कुटाकुट गरेको पाइएकोले समझदारी गरिएको थियो । राती नै केही व्यक्तिको उक्सावट र मिलोमतोमा सूर्यबंशीलाई उचालेको आरोप एक पक्षले लगाएका छन् । सहमति भएर अस्पतालमा उपचारका लागि सँगै गएको व्यक्तिलाई राती नै अर्को परिस्थिति बनाएको रञ्जीता शाहीले बताएकी छन् ।

आपसमा झगडा भएकै हो । सुरुमा मुक्का प्रहार गरेपछि मैले पनि प्रतिवाद गर्दा बढी चोट लागेको हुन सक्छ, तर उपचार गर्ने र मिलेर काम गर्ने हाकिमसाब सहीत कर्मचारीसँगको बसाइमा सहमति भइसकेको विषयलाई फरक ढंगले उठाएको र एकपक्षित दोषी बनाएको विषय स्वीकार्य नहुने शाहीको भनाई छ । कविता सूर्यबंशीले भने आफूमाथि एकोहोरो प्रहार गरेर घाइते बनाएको आरोप लगाएकी छन् ।

उपचार नै गर्नु पर्ने अवस्थासम्म पुर्याएको सूर्यबंशीको दाबी छ । उनले न्यायीक समितिमा पनि उजुरी दिएको तर सुनुवाई नभएको आरोप लगाएकी छन् । यता सूर्यबंशी निकटका केही व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक ग्रुप बनाएर नगर प्रमुख अमर खड्का माथि अश्लिल र असभ्य गाली बेइज्जती समेत गरेका छन् । ठुकुरी समुन्द्र सहीतको नामबाट फेसबुक ग्रुप बनाइएको र रञ्जीता शाही र नगर प्रमुख अमर खड्का माथि गालीबेइज्जती गरिरहेको पाइएको छ । 

घटना पछि कानुनी उपचार र घटनाको सत्यतथ्य छानवीन गर्नुको साँटो उल्टै सामाजिक सञ्जालमा जिल्लाकै बेइज्जत हुने गरि भाइरल बनाइएको छ । कमजोरी कस्को हो, दोषीले सजाय र निर्दोशीले न्याय पाउने गरि छानवीन गरिने नगर प्रमुख अमर खड्काले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आफूपनि मिलाएर जिल्ला बाहिर गइसकेपछि फेरि घटनाले अर्को रुप लिएपछि आएर फेरि वास्तविकता बुझेर प्रक्रिया अघि बढाउने बताएका छन् । बडीमालिका नगरपालिकामा सानो विषयमा भएका विवाद र आपसी असमझदारीका विषयलाई पनि भिडियो बनाएर भाइरल गर्ने काम कर्मचारीबाट हुने गरेको छ ।

प्रतिक्रिया