गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३७
Dho

बाजुरामा पुनः हिमपात, किसानलाई राहत

गाैमुल खबर डटकम
मङ्गलबार, फागुन ०८, २०८०
बाजुरामा पुनः हिमपात, किसानलाई राहत

बाजुरा : बाजुराको माथिल्लो भेगमा वर्षासँगै हिमपात भएको छ । पुनः वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यसअघि मागको दोस्रो साता पनि हिमपात भएको थियो । योसंगै बाजुरामा दुई पटक वार्षा र हिमपात भएको हो ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन् ।

बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा चिसो बढेको छ । सोमवार रातिदेखि उच्च हिमाली भेगका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । 

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र बल्ल सेताम्मे बनेका छन् । यो वर्ष झण्डै ५ महिनापछि दुई पटक हिमपात र वर्षाभएपछि कालापत्थर देखिने हिमालहरु सेताम्मे भएका हुन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । 

बाजुराका अधिकांश ठाउँमा आकाशे पानीको भरमै खेति गरिन्छ । भिरालो र पाखो जमिनमा लगाएको बालीका लागि समयमै वर्षा र हिमपात नहुँदा निरासामा परेका किसान यतिबेला केही आशासहित खुशी भएका छन् । सिँचाइको सुविधा नहुँदा हिउँदे बाली सुक्न थालेको समयमा  वर्षा र हिमपात हुँदा राहत भएको गौमुल गाउँपालिकाका स्थानीय सेते रोकायाले बताएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाईएका विभिन्न हिउँदे बालीलाई फाइदा पुगेको उनले बताए । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारी फलाईरहेका किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताएका छन् ।

हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी–कोल्टी सडक खण्डमा चल्ने जीप सेवा समेत प्रभावित भएको छ ।

प्रतिक्रिया