गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

काठमाडौं भ्रमण गरे वापत ५ लाख ६७ हजार बुझे मन्त्री नरेश कुमार शाहीले

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०६, २०८०
काठमाडौं भ्रमण गरे वापत ५ लाख ६७ हजार बुझे मन्त्री नरेश कुमार शाहीले

बाजुरा ः सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले ११ महिनामा २३ पटक काठमाडौंको सयर गरेका छन्। उनले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका हुन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो।

आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पिएसओहरुको भ्रमण भने २३ पटक भएको तथ्यांकमा उल्लेख छ। ‘मन्त्री बिना पिएसओमात्रै काठमाडौं जाने कुरै भएन, विवरणमा फरक पर्‍यो कि ? म बुझ्छु,’ आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकायाले भने। तर मन्त्रालयले दिएको विवरणमा २०७९ सालको फागुन २ गते  र २०८० सालको असोज २ गते पिएसओको मात्रै काठमाडौं भ्रमण देखाइएको छ।

तर उनको भ्रमणको कारणमा भने ‘मन्त्रीज्युको सुरक्षार्थ’ उल्लेख छ। शाहीले आर्थिक मामिला मन्त्री भएपछि फागुनको २२ गतेदेखि संघीय राजधानीको भ्रमण सुरु गरेको विवरणमा देखाइएको छ। २०७९ सालको फागुन २२ गते देखि २०८० माघको ८ गतेसम्म उनले २१ पटक काठमाडौंको भ्रमण गरेका देखाइए पनि उनको पिएसओको विवरण हेर्दा उनी २५ पटक काठमाडौं गएको देखिन्छ।

(मन्त्रालयले दिएको विवरणमा हेर्नुहोस)

आर्थिक मामिला मन्त्री शाहीको काठमाडौंको भ्रमण मुख्यमन्त्रीको भन्दा पनि अझ चाख लाग्दो छ। उनले अधिकांश महिनामा, महिनाको तीन/तीन पटक काठमाण्डौंको भ्रमण गरेका छन्। २०७९ सालको चैतमा उनी २ गते, १३ गते र २६ गते गरी तीनपटक काठमाडौं गएका छन्। 

आर्थिक मामिला मन्त्रालयले दिएको विवरणअनुसार उनी तीनै पटक ‘मन्त्रालयको कामका सिलसिलामा’ काठमाडौं गएका छन्। तर, उनले तीन पटकको ‘मन्त्रालयको कामका सिलसिला’ भने खुलाएका छैनन्। चैतमा मात्रै होइन, २०८० को साउनमा पनि उनी तीनपटक काठमाडौं गएका छन्। साउनको १ गते, १२ गते र २६ गते उनी काठमाडौं गएका छन्। त्यो तीन पटकको भ्रमणमा उनी १८ दिन काठमाडौं बसेका छन्।
 
२०८० सालको मंसिरमा पनि उनी तीन/तीन पटक काठमाडौं उडेका छन्। मंसिरको ५ गते, २० गते र २९ गते गरी तीनपटक मन्त्री शाही काठमाडौं उडेका हुन्। मंसिरमा भने उनले दुई पटक ‘मन्त्रालयको कामका सिलसिलामा’ र एक पटक लगानी तथा विकास सम्मेलनको कामका सिलसिलामा काठमाडौं गएको उल्लेख गरेका छन्।

२०८० को फागुनमा हुने भनिएको लगानी तथा विकास सम्मेलन तयारी नपुगेको भन्दै २०८१ को असोजसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसहितका अन्य मन्त्रीहरू पनि लगानी तथा विकास सम्मेलनका नाममा राजधानी उडेका छन्। धनगढीमा कार्यक्रम गरेका छन्। तर, अन्त्यमा कार्यक्रम नै स्थिगित गरेका छन्।

आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कूल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्। उनको पनि भत्ता बुझेको रकम समान दिनको फरक/फरक छ।

आर्थिक मामिला मन्त्रालयले दिएको तथ्यांक हेर्ने हो भने मन्त्री शाहीले बराबर दिनको फरक/फरक अंकमा भत्ता बुझेका छन्। २०८० सालको वैशाख ४ गतेदेखि ११ गतेसम्मको ८ दिनको उनले २० हजार ६२५ भत्ता बझेका छन् भने २०८० कै साउन १ गते देखि ८ गतेसम्मको ८ दिनको भत्ता १५ हजार ६२५ बुझेका छन्। 

समान दिनको फरक/फरक भत्ता बुझेपछि मन्त्री र स्वकीय सचिवालयमा मनपरी भत्ता बुझिँदै आएको प्रष्ट भएको छ। मन्त्री शाही कार्यकालभरि १०७ दिन बढी काठमाण्डौं बसेका छन्। 

प्रतिक्रिया