गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

सुदूरपश्चिममा रिक्त दरबन्दीभन्दा बढी कर्मचारी माग गर्दा पदस्थापनमा समस्या

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २९, २०८०
सुदूरपश्चिममा रिक्त दरबन्दीभन्दा बढी कर्मचारी माग गर्दा पदस्थापनमा समस्या

धनगढीः आर्थिक वर्ष २०७९/८० को विज्ञापनमा प्रदेश लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर पदस्थापनका लागि बैतडीको पुर्चौडी नगरपालिकामा सिफारिस भएका चार जना अहेवको अहिलेसम्म पदस्थापन हुन सकेको छैन।

पालिकामा अहेवको स्वीकृत दरबन्दीमा यसअघि नै तीन जना अतिरिक्त कर्मचारी कर्मचारी कार्यरत रहेकोमा गत वर्ष थप चार जना नयाँ कर्मचारी माग गरिँदा अहिले उनीहरूलाई हाजिर गर्न दिन समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए।

‘प्रदेश लोक सेवा आयोगले स्वास्थ सेवाको सहायक चौथो तहमा रिक्त दरबन्दीको माग आकृति फाराम पठाउन पत्राचार गर्दा प्रशासन शाखाबाट स्वास्थ शाखासँग समन्वय नगरिँदा अहिलेको समस्या देखा परेको हो’, उनले भने, ‘प्रशासनबाट दरबन्दी तेरिज नहेरी चार जना अहेव माग गरेको देखिन्छ।’ बैतडीको पुर्चौडी नगरपालिकाले चार जना हेल्थ असिस्टेन्ट माग गर्नुपर्नेमा अहेव माग गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए।

प्रदेश लोक सेवा आयोगबाट रिक्त दरबन्दीको यकिन गर्न गरेको लिखित र मौखिक ताकेतालाई बेवास्ता गरिँदा पुर्चौडी नगरपालिका सिफारिस भएका चार जना कर्मचारीले लोक सेवा पास गरेर पनि अहिलेसम्म हाजिर लगाउन पाएका छैनन्। यस्तै, समस्या बैतडीकै डिलासैनी गाउँपालिकामा पनि देखिएको छ। डिलासैनीमा ३ जना अनमी रिक्त रहेकोमा १० जनाको माग गरेको पाइएको छ। यसैगरी, २ जना अहेव रिक्त रहेकोमा ८ पद खाली रहेको विवरण लोक सेवा आयोगमा पठाएको छ।

प्रमुख प्रशासकीय अधिकृतले रिक्त दरबन्दी पठाउन गरेको त्रुटिले पदस्थापनमा समस्या भएको र उनीहरूलाई अन्य पालिकामा पदस्थापन गर्न लोक सेवा आयोगको सहयोग माग्नु परेको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए। ‘त्यतिबेलाको प्रमुख प्रशासकीय अधिकृतले त्रुटि गर्दा समस्या देखिएको हो। उहाँले दरबन्दी तेरिज नहेरी अनमी र अहेवको माग गरेको पाइयो’, अध्यक्ष जोशीले भने।

डिलासैनीमा पदस्थापन हुन नसकेका ७ अनमी र ६ जना अहेवको पदस्थापन भर्खरै प्रदेशका अन्य पालिकामा गरिएको छ। पुर्चौडी नगरपालिकामा सिफारिस भएका चार जना अहेवको पदस्थापन गर्न नगरपालिकाले पनि प्रदेश लोक सेवा आयोगसँग गुहार मागेको छ। पालिकाहरूको गैरजिम्मेवारीले सिफारिस भएका कर्मचारीले दुःख पाउनु न्याय संगत नभएको प्रदेश लोक सेवा आयोगको ठहर छ।

गैरजिम्मेवार भएर रिक्त दरबन्दीको विवरण नपठाउन लोक सेवा आयोगले ८८ वटै स्थानीय तहलाई पत्राचार गरेको सूचना अधिकारी सत्यराज जोशीले बताए। ‘यस्तो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। आयोगको निर्णयअनुसार अब उप्रान्त स्थानीय तहमा यस्तो समस्या देखिएमा सम्बन्धित अधिकारी नै जिम्मेवार हुनुपर्ने निर्णय भएको छ’, उनले भने, ‘यस्तो लापरबाही नगर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ।’

प्रदेश लोक सेवा आयोगले स्थानीय तहबाट यकिन भई आएका माग पद संख्यामा आयोगबाट सिफारिस भई गएका उम्मेदवारहरूको सम्बन्धमा स्वयं सम्बन्धित स्थानीय तह जिम्मेवार हुने निर्णय भएको बताएको छ। बैतडीको डिलासैनी र पुर्चौडी नगरपालिकाबाट गैरजिम्मेवार भएर रिक्त दरबन्दीको विवरण पठाउने अधिकारीलाई आवश्यक कारबाही गर्न प्रदेश लोक सेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी समेत पठाएको छ।

प्रतिक्रिया