बाजुरा ः प्रकृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई एकैसाथ जोड्ने उद्देश्य सहित आयोजना हुन लागेको ‘बडीमालिका कप-२०८३’ खुला पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
बडीमालिका नेचर प्रालिको आयोजनामा कात्तिक ७ देखि १० गतेसम्म बडीमालिका नगरपालिका-८, मार्तडीस्थित खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितालाई भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोजक जुटेको हो।
‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले ९९ हजार ९९९ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा बाजुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दुई दर्जनभन्दा बढी टिम सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ। खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना र पर्यटन प्रवर्द्धनको माध्यम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बडीमालिका नेचर प्रालिका अध्यक्ष कृष्ण ओलीले बताए।
उनका अनुसार बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै खेलकुदसँगै वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने दीर्घकालीन अभियानका रूपमा विकास गर्ने योजना छ। प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन आयोजकले विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।
प्रतियोगिताको समग्र व्यवस्थापनको जिम्मेवारी प्रालिका कार्यकारी निर्देशक गणेश थापाले सम्हाल्नेछन्। बाह्य समन्वय तथा खेल व्यवस्थापनको जिम्मेवारी पदमबहादुर सिंह, खेल व्यवस्थापन तथा अफिसियल टिमको नेतृत्व लक्ष्मण रोकाया र रेफ्री टिम व्यवस्थापनको जिम्मेवारी विशाल रोकायालाई दिइएको छ।
त्यसैगरी, सञ्चारमाध्यम तथा प्रचारप्रसारको नेतृत्व प्रेम रौलेले गर्नेछन् भने आयोजनापूर्वको सम्पर्क, सम्बन्ध तथा समन्वयमा विष्णु कार्की र जनक बोहराले सहजीकरण गर्नेछन्। प्रतियोगितामा स्थानीय तथा प्रदेशस्तरका उत्कृष्ट खेलाडीसँगै राष्ट्रिय र उच्चस्तरीय खेलाडीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।
स्थानीय खेलाडीलाई अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै जिल्लाको भलिबल खेलको स्तर उकास्न प्रतियोगिताले योगदान पुर्याउने विश्वास गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा २५० भन्दा बढी खेलाडीको प्रत्यक्ष सहभागिता र करिब ५० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। यद्यपि, यो आयोजकले राखेको अनुमानित लक्ष्य हो।
प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। तृतीय पुरस्कारबारे भने आयोजकले पछि निर्णय गर्ने जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ५ गते साँझ ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ।
टिम दर्ता शुल्क आठ हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रत्येक टिममा १० जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १२ जना रहने व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारको प्रस्तुति, खुला देउडा तथा मैत्रीपूर्ण खेल सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमले प्रयोग गर्ने आधिकारिक जर्सीमा मदिरा तथा प्लास्टिकजन्य वस्तु वा पदार्थको प्रचारप्रसार गर्नसमेत रोक लगाइएको छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले परिचित बडीमालिकाको पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य प्रतियोगिताले राखेको छ।
खेल हेर्न आउने खेलाडी, दर्शक तथा पाहुनाको सहभागिताले मार्तडीको स्थानीय व्यापार र पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बडीमालिका नेचर प्रालिले यसअघि खेडेदह गोल्डकपलगायत विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभवलाई उपयोग गर्दै बडीमालिका कपलाई नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
खेलकुदको उत्साहसँगै प्रकृति संरक्षणको सन्देश फैलाउने उद्देश्य बोकेको प्रतियोगिताको तयारी तीव्र बनेसँगै मार्तडीमा खेलकुदमय वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया