बाजुरा ः बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जिल्लाको समग्र विकास, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्लाका समस्या र सम्भावनाबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले बाजुरालाई बाहिर प्रचार गरिएजस्तो मात्र नभई सम्भावनायुक्त जिल्लाका रूपमा बुझेको बताए।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवापछि बाजुराको जिम्मेवारी सम्हाल्न आएका रिजालले पत्रकारसँग चिया भेट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्दै जिल्लाको वस्तुस्थिति, सार्वजनिक सेवा प्रवाह र समसामयिक समस्याबारे छलफल गरेका हुन्।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रिजालले बाजुरामा केही गर्ने उद्देश्यसहित आएको उल्लेख गर्दै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। प्रशासन एक्लैले सबै समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो।
‘बाजुराबारे मेरो बुझाइ नजिकबाटै बनेको छ। बाहिर गरिने चर्चा र हल्लाजस्तो मात्र यो जिल्ला छैन। यहाँ धेरै सम्भावना छन्,’ रिजालले भने, ‘केही गर्ने उद्देश्य लिएर आएको छु। त्यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।’
महँगीदेखि सवारी भाडासम्मका समस्या उठे
पत्रकारसँगको छलफलमा जिल्लामा बढ्दो महँगी, चर्को सवारी भाडा, भाडामा हुने मनोमानी तथा बजार अनुगमनको प्रभावकारितालगायत विषय उठाइएको थियो। स्थानीय उपभोक्ताले भोगिरहेका समस्यालाई सम्बोधन गर्न प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने पत्रकारहरूको सुझाव थियो।
विशेषगरी सहुलियत दरमा ढुवानी गरिएका स्याउ र बजारमा बिक्री भइरहेका स्याउको मूल्यमा एकरूपता नदेखिएको विषयमा समेत ध्यानाकर्षण गराइएको थियो। सहुलियतमा ढुवानी गरिएका वस्तु उपभोक्तासम्म पुग्दा मूल्यमा पारदर्शिता कायम हुनुपर्ने र बजारमा मनोमानी हुन नदिन प्रभावकारी अनुगमन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
बजारमा मूल्य नियन्त्रण, सवारी भाडाको नियमन र उपभोक्ताको हित संरक्षणका लागि प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्नुपर्नेमा पत्रकारहरूले जोड दिएका थिए।
सूचना प्रवाह र पारदर्शितामा जोड
छलफलमा जिल्ला प्रशासन कार्यालयबाट हुने सूचना प्रवाहलाई सहज, नियमित र व्यवस्थित बनाउनुपर्ने विषयले पनि प्राथमिकता पाएको थियो। सरकारी कार्यालयका निर्णय, गतिविधि, सेवा र सार्वजनिक सरोकारका विषयमा सञ्चारकर्मीले समयमै सूचना प्राप्त गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिइएको थियो।
कार्यालयको वेबसाइटलाई नियमित अद्यावधिक गरी आवश्यक सूचना, निर्णय र सेवासम्बन्धी विवरण सार्वजनिक गर्न सके नागरिकले सहज रूपमा जानकारी पाउने र प्रशासनिक काममा पारदर्शिता बढ्ने पत्रकारहरूको धारणा थियो।
सूचनाको हक, सार्वजनिक जवाफदेहिता र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै प्रशासनले सूचना लिने र दिने दुवै प्रक्रियालाई व्यवस्थित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
राजनीतिक संवाद र जिल्लाका सम्भावनामा ध्यान दिन सुझाव
पत्रकारहरूले बाजुरामा समस्याभन्दा सम्भावना बढी रहेको उल्लेख गर्दै जिल्लाको सकारात्मक पहिचान निर्माण, विकासका अवसरको खोजी र विद्यमान समस्या समाधानका लागि सबै पक्षलाई एकै ठाउँमा जोडेर अघि बढ्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका थिए।
जिल्लामा राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न, विकासका विषयमा साझा समझदारी बढाउन तथा प्रशासनलाई निष्पक्ष, जिम्मेवार र नागरिकमैत्री बनाउन पहल गर्नुपर्ने सुझावसमेत दिइएको थियो।
बाजुराका चुनौतीलाई मात्र चर्चामा ल्याउनेभन्दा यहाँका सफल अभ्यास, विकासका सम्भावना, स्थानीय उत्पादन, पर्यटन र सामाजिक क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई पनि प्राथमिकता दिनुपर्ने पत्रकारहरूको भनाइ थियो। समस्या उजागर गर्नुका साथै समाधानका उपाय खोज्न र जिल्लाको सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सहकार्यबाट परिणाममुखी काम गर्ने अपेक्षा
परिचयात्मक भेटमा जिल्लामा क्रियाशील अधिकांश सञ्चारकर्मीको सहभागिता रहेको थियो। भेटघाटले नयाँ प्रमुख जिल्ला अधिकारी र सञ्चारमाध्यमबीच आपसी परिचय, समन्वय र सहकार्यको आधार तयार गरेको सहभागीहरूले बताएका छन्।
बाजुरामा महँगी, यातायात भाडा, बजार व्यवस्थापन र सार्वजनिक सेवामा देखिएका समस्याको समाधानसँगै जिल्लाका सम्भावनालाई उजागर गर्नु नयाँ प्रशासनिक नेतृत्वका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।
रिजालको प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन सके बजार अनुगमन, सूचना प्रवाह, सार्वजनिक सेवा र सरोकारवाला निकायबीचको समन्वयमा सुधार आउने अपेक्षा गरिएको छ। अब जिल्लावासीले नयाँ प्रशासनिक नेतृत्वबाट प्रतिबद्धतासँगै व्यवहारमै देखिने परिणामको अपेक्षा गरेका छन्।





प्रतिक्रिया