बाजुरा ः सदरमुकाम मार्तडीमा बडीमालिका कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। खेलकुद क्षेत्रको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले हिमालयन मक्स स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ३२ टोली सहभागी छन्।
प्रतियोगिताको उद्घाटन पूर्वप्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नुभएको हो। उद्घाटन समारोहमा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, नेकपा एमाले बाजुरा जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक तथा मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायलगायतको सहभागिता थियो। हिमालयन मक्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक विकको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहको सञ्चालन प्रेम नेपालीले गर्नुभएको थियो। समारोहमा नृत्य तथा गायन प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
प्रतियोगिताको उद्घाटन खेल कर्मचारी र राजनीतिक दलका नेताबीच मैत्रीपूर्ण रूपमा खेलाइएको थियो। उक्त खेलमा कर्मचारीको टोलीले राजनीतिक दलका नेताको टोलीलाई ६–१ गोलअन्तरले पराजित गरेको छ। प्रतियोगिता मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। सेभेन ए साइड प्रणालीमा खेलाइने प्रतियोगितामा प्रत्येक टोलीमा १० जना खेलाडी, एक जना व्यवस्थापक र एक जना प्रशिक्षक गरी १२ जना रहने व्यवस्था गरिएको छ। खेलाडी जिल्ला बाहिरका भए पनि सहभागी टोली भने बाजुरा जिल्लाभित्रकै हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क सात हजार रुपैयाँ तोकिएको थियो।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अन्य विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका थिए। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवालाई खेलकुदमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।





प्रतिक्रिया