बाजुरा ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान अन्तर्गत बाजुराको उत्तरी क्षेत्रका अगुवा नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरेको छ। कार्यक्रममा सहभागीहरूले जनताका दुःख-पीडा सुन्नुका साथै तिनको समाधानका स्पष्ट योजना र कार्यान्वयनको प्रतिबद्धता लिएर जनतामाझ जान नेतृत्वलाई सुझाव दिएका छन्।
रास्वपा बाजुराको आयोजनामा पिलुचौरमा भएको कार्यक्रममा बुढीनन्दा, स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ क्षेत्रका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। पार्टीका केन्द्रीय सदस्य तथा सांसद केपी खनालको नेतृत्वमा आएको टोलीले स्थानीय नेता-कार्यकर्तासँग छलफल गरेको हो।
कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी केही नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। उनीहरूलाई रास्वपा केन्द्रीय सदस्य केपी खनाल, पार्टी जिल्ला सभापति नवराज जैसी लगायत नेताहरूले स्वागत गरेका थिए। बाजागाजासहित गरिएको स्वागतले कार्यक्रमलाई थप चहलपहलपूर्ण बनाएको थियो।
कार्यक्रममा रास्वपाका नेताहरूले नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्दै पार्टी तथा जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका थिए। उनीहरूका अनुसार अभियान मार्फत स्थानीय तहका वास्तविक समस्या पहिचान गर्ने, नागरिकका आवाज सुन्ने र राजनीतिक गतिविधिलाई जनताका आवश्यकतासँग जोड्ने लक्ष्य राखिएको छ।
अन्तरक्रियामा सहभागी नेता तथा कार्यकर्ताले भने जनताका समस्या सुन्नु मात्रै पर्याप्त नहुने धारणा राखेका थिए। उनीहरूले नागरिकले भोगिरहेका समस्याको पहिचानसँगै समाधानका स्पष्ट योजना, कार्यान्वयनको आधार र जिम्मेवारीसमेत तय गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।
‘जनताका दुःख-पीडा सुन्न आउनु सकारात्मक कुरा हो। तर, समस्या सुन्ने मात्रै होइन, समाधान गर्ने योजना पनि लिएर आउनुपर्छ,’ सहभागीहरूको सुझावको सार थियो।
रास्वपाले अभियानलाई देशव्यापी रूपमा अघि बढाएको जनाएको छ। अभियानमार्फत स्थानीय समस्या, नागरिकका गुनासा र पार्टीप्रतिको अपेक्षा बुझ्दै संगठनात्मक गतिविधिलाई जनतासँग जोड्ने लक्ष्य राखिएको छ।
रास्वपा नेता तपेश रावलका अनुसार अभियान अन्तर्गत आज बाजुराको तल्लो क्षेत्रका पाँच पालिकाका नेता तथा कार्यकर्तासँग भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। उत्तरी क्षेत्रको कार्यक्रम सम्पन्न भएसँगै पार्टीले जिल्लाका अन्य क्षेत्रमा पनि भेटघाट र छलफललाई निरन्तरता दिन लागेको हो।
जनताका समस्या सुन्ने र राजनीतिक संवाद विस्तार गर्ने उद्देश्य सहित अघि बढाइएको अभियानले स्थानीयका अपेक्षालाई कसरी सम्बोधन गर्छ भन्ने कुरा भने त्यस क्रममा पहिचान गरिएका समस्याको समाधानका लागि बनाइने योजना र त्यसको कार्यान्वयनमा निर्भर रहनेछ।





प्रतिक्रिया