बाजुरा ःजिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८३/८४ मा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुले वर्षभरि सम्पादन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिहरुको समीक्षा तथा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाको समग्र विकास, सेवा प्रवाह, सुशासन तथा आगामी दिनमा सञ्चालन गरिने विकास गतिविधिका विषयमा समीक्षा गरिएको थियो ।
‘समृद्धिका लागि समन्वय र सहकार्य’ भन्ने मूल भावनाका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लामा सञ्चालित विकास निर्माण, सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी लगायतका क्षेत्रमा भएका प्रगति तथा चुनौतीका विषयमा छलफल गरिएको जिल्ला समन्वय समितिका दीपेन्द्र पाण्डेले बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले जिल्लाको विकासका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र राजनीतिक दलबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उपलब्ध स्रोत-साधनको उचित परिचालन गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासका कामलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्ने बताए । विकास निर्माणका काममा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायबीच समन्वय गरेर समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि टेकबहादुर बडुवाल, नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल, नेकपा (एमाले) जिल्ला कमिटी सचिव काँशी विक लगायतले जिल्लाको समग्र विकासका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
समीक्षा कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आर्थिक वर्ष २०८३/८४ मा आफूहरुले सम्पादन गरेका प्रमुख गतिविधि, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमले विगत एक वर्षमा जिल्लामा भएका विकास तथा सेवा प्रवाहका गतिविधिको अवस्था मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै जिल्लाको विकासलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ ।





प्रतिक्रिया