बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीको १६ औँ पूर्ण बैठक महत्वपूर्ण छलफल तथा निर्णय सहित सम्पन्न भएको छ।
बैठकले वडाको समसामयिक राजनीतिक अवस्था, पार्टी जागरण अभियान, संगठन विस्तार तथा आगामी दिनमा सञ्चालन गरिने विभिन्न कार्यक्रमको योजना र तयारीका विषयमा गहन छलफल गरेको छ।
बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा कमिटी इन्चार्ज अमर विकले जनताको सवाल, स्थानीय विकास, संगठन सुदृढीकरण तथा पार्टीका आगामी एजेन्डासम्म समेटिएको महत्वपूर्ण कार्यसूची प्रस्तुत गरेका थिए।
उनले जनतासँगको सम्बन्ध थप मजबुत बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउन आवश्यक रणनीति तथा आगामी कार्यक्रमबारे धारणा राखेका थिए।
विकले पार्टीलाई जनताको सुख-दुःखसँग जोड्दै संगठनलाई थप सुदृढ, अनुशासित, गतिशील र जनमुखी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।
उनका अनुसार जनताको अपेक्षा, स्थानीय आवश्यकता र पार्टीको नीति तथा कार्यक्रमबीच समन्वय कायम गर्दै संगठनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।
बैठकमा पार्टी जागरण अभियानका विषयमा आवश्यक जानकारी आदानप्रदान गर्नुका साथै आगामी दिनमा सञ्चालन हुने संगठनात्मक तथा राजनीतिक गतिविधिको योजना, कार्यान्वयन र जिम्मेवारीबारे समेत छलफल गरिएको थियो। बैठकले पार्टी गतिविधिलाई वडास्तरसम्म थप प्रभावकारी बनाउँदै जनसम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षतामा आयोजित बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा कमिटी इन्चार्ज अमर विक, पूर्व साविक मानाकोट गाविस अध्यक्ष ज्ञानबहादुर रोकाया लगायत गाउँ कमिटी तथा वडा कमिटीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो।
वडा कमिटी सचिव तुसार सार्कीले सञ्चालन गरेको बैठक वडाको केन्द्र निलासैनमा बसेको हो । बैठकबाट संगठनलाई थप सक्रिय र एकताबद्ध बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिलाई जनस्तरसम्म प्रभावकारी रुपमा लैजाने निष्कर्ष निकालिएको जनाइएको छ।





प्रतिक्रिया