काेल्टी ःबुढीनन्दा नगरपालिकामा रहेकाे कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको समन्वय तथा एक–एक पाइला फाउण्डेशन र गेटा आँखा अस्पतालको सहयोगमा सञ्चालित शिविरको पहिलो दिन ठूलो संख्यामा स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीका अनुसार शिविरको पहिलो दिन विभिन्न विधाका स्वास्थ्य सेवामार्फत २ हजार ४ सयभन्दा बढी सेवा प्रवाह भएको छ। शिविरमा विशेषगरी आँखा, शल्यक्रिया, स्त्री तथा प्रसूति, नाक–कान–घाँटी, दन्त रोगलगायतका सेवासँगै निःशुल्क औषधि वितरण गरिएको छ।
पहिलो दिनको विवरणअनुसार मुलदर्ती सेवामा ८१५ जना सहभागी भएका छन्। त्यसमध्ये ४८५ महिला र ३३० पुरुष रहेका छन्। त्यसैगरी आँखा रोग सेवामा ४२५ जना पुगेका छन्, जसमा २२५ महिला, १६५ पुरुष र ३५ बालबालिका रहेका छन्।
त्यस्तै शल्यक्रिया सेवाअन्तर्गत ६४ जनाले सेवा लिएका छन्। तीमध्ये ६१ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३ जनाको कानको शल्यक्रिया गरिएको विवरणमा उल्लेख छ। नाक, कान तथा घाँटी रोग सेवामा २५० जना, स्त्री तथा प्रसूति रोग सेवामा ५३ जना र दन्त रोग सेवामा २० जनाले सेवा लिएका छन्।
शिविरमा ८२५ जनालाई निःशुल्क फार्मेसी सेवा उपलब्ध गराइएको छ। अस्पतालबाट नियमित रूपमा प्रवाह हुने आकस्मिक सेवाअन्तर्गत समेत राति १० बजेसम्म १४ जनाले सेवा लिएका छन्।
दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेको अवस्थामा आफ्नै क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले स्थानीयलाई ठूलो राहत पुगेको छ।
विशेषगरी आँखाको उपचार तथा शल्यक्रियासहित विभिन्न रोगको परीक्षण, उपचार र औषधि निःशुल्क उपलब्ध भएपछि स्थानीय सेवाग्राही लाभान्वित भएका छन्।
जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिका
बुढीनन्दा नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकलाई सहज रूपमा उपचारको वातावरण सिर्जना गर्ने उद्देश्यले यस्ता मानवीय तथा जनसेवामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। नगर प्रमुख जनक कुमार बोहराको सक्रिय अगुवाइमा दुर्गम क्षेत्रका नागरिकले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने नागरिकका लागि यस्ता शिविर स्वास्थ्य सेवा मात्र नभई प्रत्यक्ष मानवीय सहयोगको माध्यम बनेका छन्। स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सहयोगी संस्थाबीचको सहकार्यले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्वपूर्ण योगदान पुगेको देखिएको छ।
स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले शिविरमा पहिलो दिन नै उत्साहजनक सहभागिता रहेको बताउँदै आवश्यकताअनुसार सेवा निरन्तर प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।





प्रतिक्रिया