बाजुरा ःनेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा बाजुरामा पार्टीको जिल्ला अधिवेशनले राजनीतिक सरगर्मी बढाएको छ। वडा र पालिका तहको अधिवेशनपछि अब प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला तहको प्रक्रिया अघि बढेसँगै बाजुरा कांग्रेसभित्र शक्ति सन्तुलनको हिसाब किताब सुरु भएको छ।
कांग्रेस बाजुराले मार्तडीस्थित खुला मञ्चमा आठौँ जिल्ला अधिवेशनको उद्घाटन गरेको छ। जिल्लाका ६९ वडामध्ये ६७ वडाबाट करिब १ हजार ६ सय १० जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन्। उपलब्ध विवरण अनुसार गौमुल गाउँपालिका-४ र ५ मा वडा अधिवेशनको प्रक्रिया पूरा हुन नसकेपछि बाँकी ६७ वडाबाट प्रतिनिधि आएका हुन्।
प्रत्येक वडाबाट सभापति सहित २४ जना प्रतिनिधि आउने व्यवस्था रहेपनि क्रियाशील सदस्यताको संख्याका आधारमा केही वडाबाट थप प्रतिनिधित्व हुने व्यवस्था छ। बडीमालिका नगरपालिका-७ बाट थप दुई प्रतिनिधिसहित २६ जना सहभागी हुने जनाइएको छ।
३३ महाधिवेशन प्रतिनिधिका लागि मुख्य प्रतिस्पर्धा
बाजुरा कांग्रेसको अहिलेको अधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट बनेको छ। निर्वाचन अधिकृत चन्द्रप्रकाश लुइँटेलका अनुसार १ हजार ६ सय १० प्रतिनिधिबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्।
३३ प्रतिनिधिमा खुलातर्फ १०, महिला खुलातर्फ चार तथा विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। युवातर्फ दुई पुरुष र एक महिला गरी तीन जना तथा दलित, अपाङ्गता भएका व्यक्ति, श्रमिक, पेशागत लगायत समूहबाट पनि प्रतिनिधित्व हुने व्यवस्था रहेको छ।
यसकारण जिल्ला अधिवेशनको राजनीतिक महत्व स्थानीय संगठनको नेतृत्वसँग सीमित छैन्। मार्तडीमा हुने प्रतिनिधि छनोटले आगामी केन्द्रीय महाधिवेशनमा बाजुराबाट जाने प्रतिनिधिको संरचना निर्धारण गर्नेछ।
कांग्रेसको आधिकारिक कार्यतालिका अनुसार १५ औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। पछिल्लो कार्यतालिका अनुसार वडा, पालिका हुँदै क्षेत्रीय र जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाइएको हो।
६७ वडाको अधिवेशन, दुई वडामा प्रक्रिया रोकियो
बाजुराका ६९ वडामध्ये गौमुल गाउँपालिका-४ र ५ बाहेक अन्य ६७ वडामा अधिवेशन प्रक्रिया पूरा भएको कांग्रेस बाजुराका उपसभापति पदम बडुवाललाई उद्धृत गर्दै विभिन्न समाचार संस्थाले जनाएका छन्।
यी दुई वडामा अधिवेशन प्रक्रिया पूरा हुन नसक्नुका पछाडि पार्टीभित्रको समूहगत प्रतिस्पर्धाको प्रभाव रहेको दाबी गरिएको छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षहरुको औपचारिक धारणा र प्रक्रियागत कारणलाई छुट्टाछुट्टै रुपमा हेर्नुपर्ने हुन्छ।
सात पालिकामा नेतृत्व टुंगियो, दुईमा सहमतिको प्रयास
कांग्रेस बाजुराका नौ स्थानीय तहमध्ये सात पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। उपलब्ध विवरण अनुसार हिमालीमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही, स्वामीकार्तिक खापरमा विष्णु बुढा, जगन्नाथमा कपुर गिरी, बुढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिकामा उमाकान्त उपाध्याय र गौमुलमा गोरख रोकाया सभापति चयन भएका छन्।
अब त्रिवेणी र बुढीगंगा नगरपालिकामा नेतृत्व चयन गर्न बाँकी रहेको छ। ती दुवै स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको कांग्रेस बाजुराले जनाएको छ।
देउवा-गगन धारको प्रभाव
केन्द्रीय तहमा नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व सम्बन्धी विवाद र फरक समूहका गतिविधिको प्रभाव बाजुरामा पनि पेचिलाे तरिकाले देखिएको विभिन्न स्थानीय रिपोर्टहरुले उल्लेख गरेका छन्।
बाजुरामा पनि कांग्रेस नेताकार्यकर्ताहरु विभिन्न समूहमा खुलेर गतिविधि गर्न थालेका छन्। गगन थापा पक्षधर समूहले जिल्लामा आफ्नो संगठनात्मक आधार बलियो बनाउने प्रयास गरिरहेको दाबी गरिएको छ ।
भने देउवा पक्षले पनि छुट्टै संगठनात्मक गतिविधि अघि बढाएको रिपोर्टहरु सार्वजनिक भएका छन्। देउवा पक्षले देशभर महाधिवेशन प्रक्रियाका लागि केन्द्रीय प्रतिनिधि परिचालन गरेको विवरण समेत सार्वजनिक भएको छ।
तर बाजुरामा कुन समूहको वास्तविक संगठनात्मक प्रभाव कति छ भन्ने प्रश्नको स्पष्ट तस्वीर प्रतिनिधि छनोटको परिणामपछि मात्र देखिनेछ। अहिले विभिन्न पक्षबाट गरिएका दाबीलाई अन्तिम शक्ति सन्तुलनका रुपमा बुझ्नुभन्दा अधिवेशनको मतदान परिणामलाई आधार मान्नु उपयुक्त हुनेछ।
जिल्ला नेतृत्व भन्दा ३३ प्रतिनिधि किन महत्वपूर्ण ?
यसपटकको अधिवेशनमा तत्काल जिल्ला सभापतिको निर्वाचन भन्दा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटले बढी राजनीतिक अर्थ बोकेको देखिन्छ।
१ हजार ६ सय १० प्रतिनिधिबाट ३३ जना महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले खुला, महिला, युवा तथा समावेशी समूहमा हुने प्रतिस्पर्धाले बाजुरा कांग्रेसभित्रको संगठनात्मक शक्ति सन्तुलनको प्रारम्भिक तस्वीर दिनेछ।
विशेषगरी दुई समूहबीचको प्रतिस्पर्धा तीव्र बनेको अवस्थामा ३३ प्रतिनिधिमा कुन समूहबाट कति व्यक्ति निर्वाचित हुन्छन् भन्ने विषयले आगामी केन्द्रीय महाधिवेशनमा बाजुराको राजनीतिक उपस्थिति र प्रभावको स्वरुप निर्धारण गर्न सक्छ।
यसैकारण अहिले बाजुरा कांग्रेसभित्रको मुख्य चासो ‘कसले नेतृत्व पाउँछ ?’ भन्ने प्रश्नमा सीमित छैन्। ३३ महाधिवेशन प्रतिनिधिमा कसको कस्तो प्रतिनिधित्व बन्छ ? भन्ने प्रश्न नै अधिवेशनको केन्द्रमा देखिएको छ।
मार्तडीको अधिवेशनले दिनेछ शक्ति सन्तुलनको संकेत
बाजुरामा कांग्रेसको आठौँ जिल्ला अधिवेशन संगठनात्मक प्रक्रिया पूरा गर्ने नियमित कार्यक्रम भएपनि यसपटकको राजनीतिक परिवेशका कारण यसको महत्व थप बढेको छ।
६७ वडाबाट आएका १ हजार ६ सय १० प्रतिनिधि, सात पालिकामा टुंगिएको नेतृत्व, अझै सहमतिको प्रयासमा रहेका दुई पालिका तथा ३३ जना महाधिवेशन प्रतिनिधिका लागि हुने छनोटले बाजुरा कांग्रेसको आगामी राजनीतिक संरचनाको संकेत दिनेछ।
अन्तिम शक्ति सन्तुलन भने कुनै पक्षको दाबीले होइन, सहमति, उम्मेदवारी, प्रतिनिधिको मतदान र निर्वाचन परिणामले निर्धारण गर्नेछ।
त्यसैले मार्तडीमा जम्मा भएका कांग्रेसका १ हजार ६ सय १० प्रतिनिधिको मत अहिले बाजुरा कांग्रेसभित्रको सबैभन्दा महत्वपूर्ण राजनीतिक अंकगणित बनेको छ।





प्रतिक्रिया