गाैमुल खबर डटकम मङ्गलबार २०, असोज २०८३ ०८:४१

घरबाट निस्किएका धनबहादुर घर फर्किएनन्, विद्युत पोलमा करेन्ट लागेर मृत भेटिए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १९, २०८३
घरबाट निस्किएका धनबहादुर घर फर्किएनन्, विद्युत पोलमा करेन्ट लागेर मृत भेटिए

बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिका-२ परिवनमा विद्युतकाे पोलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका-२ परिवनका अन्दाजी ४२ वर्षीय धनबहादुर केसी रहेका छन्।

प्रहरीका अनुसार केसी आइतबार घरबाट बाहिरिएपछि साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा परिवनस्थित सामुदायिक वनभित्र जडान गरिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागी घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे स्थानीयले आइतबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा टेलिफोन मार्फत जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी हवल्दार रतनबहादुर साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली राति करिब १०ः३० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस्तै, प्रहरी चौकी बार्जुगाडबाट प्रहरी निरीक्षक जंगबहादुर चन्दको कमाण्डमा पाँच जनाको टोली समेत घटनास्थलमा खटिएर घटनाबारे थप अनुसन्धान थालेको थियो।

घटनाको थप अनुसन्धान, घटनास्थल मुचुल्का लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सोमबार बिहान करिब ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।

घटनास्थल अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

प्रतिक्रिया