बाजुरा ः नेपाल शिक्षक महासंघ बडीमालिका नगर कार्यसमितिले बडीमालिका नगरपालिकामा कार्यरत नगर अनुदान शिक्षकको पारिश्रमिक वृद्धि गर्न माग गरेको छ।
महासंघले नगर प्रमुख अमर खड्कालाई ज्ञापनपत्र बुझाउँदै नगर अनुदानमा कार्यरत शिक्षकलाई नेपाल सरकारको स्वीकृत दरबन्दी अनुसारका शिक्षकसरह पारिश्रमिक उपलब्ध गराउन माग गरेको हो।
लामो समयदेखि न्यून पारिश्रमिकमा काम गरिरहेका नगर अनुदान शिक्षकको श्रम, योगदान र पेशागत जिम्मेवारीलाई ध्यानमा राख्दै उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने महासंघको माग छ।
महासंघका अनुसार सामुदायिक विद्यालयमा बालबालिकाको दैनिक पठनपाठनमा नगर अनुदान शिक्षकको महत्वपूर्ण भूमिका रहेपनि उनीहरुलाई न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था रहेको छ।
समान काम गर्ने शिक्षकबीच पारिश्रमिकमा रहेको विभेद अन्त्य गर्दै शिक्षकको पेशागत सम्मान र श्रमको उचित मूल्यांकन गर्नुपर्ने महासंघले जनाएको छ।
ज्ञापनपत्रमा नगर अनुदान शिक्षकको पारिश्रमिक वृद्धि गर्न नेपाल सरकारको स्वीकृत दरबन्दी अनुसारको मापदण्ड अनुसार तलब सुविधा उपलब्ध गराउन माग गरिएको छ।
त्यस्तै शिक्षकको क्षमता विकासका लागि आवश्यक विषयगत तथा पेशागत विकास तालिमको व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ।
महासंघले नगरपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको तलब-भत्ता सम्बन्धित शिक्षक तथा कर्मचारीकै खातामा जाने व्यवस्था मिलाउन समेत माग गरेको छ।
नेपाल शिक्षक महासंघ बडीमालिका नगर कार्यसमितिका अध्यक्ष दिमा सुब्बाको हस्ताक्षर रहेको ज्ञापनपत्रमा शिक्षकको वृद्धि विकास र पेशागत सुरक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ बाजुराका सचिव मिनबहादुर ऐडी, बडीमालिका नगर कार्यसमितिका अध्यक्ष दिमा सुब्बा, नगर अनुदान शिक्षक समिति बडीमालिकाका संयोजक राजेन्द्र कुमार खत्री, सदस्य इश्वरा थापा, गौरवबहादुर विक लगायत शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो।





प्रतिक्रिया