बाजुरा ःलगातार भइरहेको वर्षाका कारण बडीमालिका नगरपालिका-४ रिला निवासी स्थानीय गोरख बुढाको तीनतले घर भत्किएको छ। नियमित वर्षाका कारण घर कमजोर भएर भत्किएको स्थानीय गजेन्द्र नाथले जानकारी दिएका छन्।
घर भत्किएपछि बुढा दम्पती अहिले छानामुनी बस्न बाध्य भएका छन्। घरको संरचना भत्किएसँगै उनीहरुको दैनिक जीवन समेत प्रभावित भएको छ।
बुढाका छोरा-बुहारी रोजगारीका सिलसिलामा भारतमा रहेका कारण वृद्ध दम्पती घरमा एक्लै बस्दै आएका छन्। घर भत्किएपछि वर्षाको समयमा उनीहरु थप जोखिममा परेका छन्।
लगातारको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा घर तथा भौतिक संरचनामा क्षति पुगिरहेका बेला बुढा दम्पतीको अवस्थाप्रति स्थानीयले सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने बताएका छन्।
पीडित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन तथा आवश्यक राहत उपलब्ध गराउन स्थानीय सरकारसँग आग्रह गरिएको छ।





प्रतिक्रिया