बाजुरा ः अविरल वर्षासँगै आएको पहिरोले ३२ वटा विद्युत् पोल ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।
शनिबार रातिदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएको हो। बडीमालिका नगरपालिका-८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरो खस्दा विद्युत्का पोल तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ।
वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँध क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले ७ वटा र वीरेखोला क्षेत्रमा २५ वटा विद्युत् पोल ढलेका छन्।
विद्युत् सेवा अवरुद्ध भएपछि समस्या पहिचान तथा मर्मतका लागि प्राविधिक टोली दिनभर खटिएको थियो। तर, लगातार वर्षा भइरहेकाले काम प्रभावित भएको जोशीले बताउनुभयो।
उहाँका अनुसार वर्षा नरोकिएसम्म मर्मत कार्य अघि बढाउन कठिन भएकाले आइतबार पनि विद्युत् सेवा सुचारु हुने सम्भावना कम रहेको छ।
बाजुरामा अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। लगातारको वर्षाका कारण साँफे-मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा प्रसारण लाइन तथा विद्युत् संरचनामा क्षति पुगेको हो।
विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडी सहित जिल्लाका विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। विद्युतबाट सञ्चालन हुने कार्यालय, व्यवसाय, सञ्चार तथा अन्य दैनिक कामकाज समेत प्रभावित भएका छन्।
यसैबीच, अविरल वर्षाका कारण साँफे-मार्तडी सडकखण्ड समेत ठाउँ-ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ। केही स्थानमा पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पुनः भारी वर्षा भएपछि पहिरो खस्ने क्रम नरोकिँदा सडक सञ्चालनमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।





प्रतिक्रिया