गाैमुल खबर डटकम शनिबार १३, भदौ २०८३ १०:०९

प्रविधिले विस्थापित गर्दै हल गोरु, बाजुरामा संरक्षणका लागि कृषकलाई प्रोत्साहन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १२, २०८३
प्रविधिले विस्थापित गर्दै हल गोरु, बाजुरामा संरक्षणका लागि कृषकलाई प्रोत्साहन

बाजुरा ः परम्परागत कृषि प्रणालीको महत्वपूर्ण आधारका रुपमा रहेको हल गोरु पालनलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराका १ सय ५६ जना कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत हल गोरु पालन गर्ने कृषकलाई प्रति कृषक ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

प्रोत्साहन रकम प्राप्त गर्ने कृषक मध्ये स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका ७, त्रिवेणी नगरपालिकाका ४ र बुढीगंगा नगरपालिकाका ३ जना रहेका छन् ।

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने क्रम घट्दै गएपछि कृषकलाई परम्परागत कृषि प्रणालीसँग जोडिराख्न प्रोत्साहन रकम उपलब्ध गराइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले बताए ।

उनका अनुसार कार्यक्रमका लागि जिल्लाका ९ वटै स्थानीय तहबाट ४ सय जना कृषकले आवेदन दिएका थिए । आवश्यक कागजात जाँच तथा मूल्यांकनपछि २ सय जना कृषक छनौट गरिए पनि असार २५ गतेसम्म १ सय ५६ जना कृषकले मात्रै आवश्यक प्रक्रिया पूरा गरी रकमका लागि निवेदन दिएका थिए ।

सोही आधारमा छनौट भएका १ सय ५६ जना कृषकको बैंक खातामा प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले कुल ७ लाख ८० हजार रुपैयाँ प्रोत्साहन रकम भुक्तानी गरिएको प्रमुख जैशीले जानकारी दिए ।

“घरमा एक हल गोरु पालन गरी परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका कृषक र जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनौट गरेका हौं,” प्रमुख जैशीले भने, “दुर्गम गाउँबाट सदरमुकाम आउन सहज नभएका कृषकलाई सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था समेत गरेका थियौं।”

हल गोरु नेपाली ग्रामीण कृषि प्रणालीमा लामो समयदेखि खेत जोत्न, बारी खनजोत गर्न तथा कृषि कार्यमा प्रयोग हुँदै आएका छन् । पछिल्लो समय ट्र्याक्टर तथा अन्य आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै हल गोरुको प्रयोग र पालन दुवै घट्दै गएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया