गाैमुल खबर डटकम बिहीबार ११, भदौ २०८३ ११:०३

बडीमालिकामा मुख्य पूजा सुरु, आस्थाको शिखरमा उर्लियो भक्तजनको भीड

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ११, २०८३
बडीमालिकामा मुख्य पूजा सुरु, आस्थाको शिखरमा उर्लियो भक्तजनको भीड

बाजुरा ःधार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बाजुराको बडीमालिका भगवती मन्दिरमा बिहीबार मुख्य पूजा तथा मेला सुरु भएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा साउन शुक्ल चतुर्दशी अर्थात् जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा तथा मेला लाग्ने परम्परा छ।

मुख्य मेला बिहीबार लागे पनि दर्शनार्थीको चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै बडीमालिकामा पूजा सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए।

उनका अनुसार साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका माताको पूजा गरी सोही दिन तल झर्ने र जनैपूर्णिमाको दिन त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी मन्दिरमा पूजा आजा गर्ने परम्परा छ।

जनैपूर्णिमाका अवसरमा बडीमालिकासँगै बुढीनन्दा, बडालेख, दुनालेख, डडुल्ले,भण्डारथुम लगायत दर्जन भन्दा बढी धार्मिक शक्तिपीठमा समेत पूजा तथा मेला लाग्ने गर्दछ।

बडीमालिका दर्शनका लागि बाजुरा सहित देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गरेका छन्।

बाजुरा, डोटी, कालीकोट र जुम्लाबाट पूजा सामग्री सहित जाने सरकारी टोली समेत बडीमालिका पुगिसकेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

“विगतका वर्ष भन्दा यसपटक दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान छ,” नगर प्रमुख खड्काले भने, “गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेको छ।”

बडीमालिकामा दर्शनार्थीको चाप बढ्दै गएपछि सुरक्षा व्यवस्था समेत मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। उनका अनुसार भिरालो भूगोल र उच्च उचाइका कारण लेक लाग्ने तथा हिँडडुलमा केही कठिनाइ हुने गरे पनि सुरक्षा व्यवस्थापनका दृष्टिले आवश्यक तयारी गरिएको छ।

बडीमालिकामा पहिलोपटक फोरजीको सहज पहुँच

विगतमा सञ्चार सेवाको अभावका कारण बडीमालिका पुग्ने तीर्थयात्री, सुरक्षाकर्मी तथा अन्य व्यक्तिले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए। तर यस वर्षको मेला सुरु हुनु अघि नै नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा आएपछि दर्शनार्थीलाई परिवार तथा आफन्तसँग सम्पर्क गर्न, सूचना आदानप्रदान गर्न र इन्टरनेट प्रयोग गर्न सहज भएको छ। साथै आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्न समेत सञ्चार सेवाले महत्वपूर्ण सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

यसअघि सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

आस्था, प्रकृति र पर्यटनको अनुपम संगम

बडीमालिका धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रुपमा समेत परिचित छ। मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, विष्णुपानी, धर्मद्वार, हरियाली फाँट तथा रङ्गीचङ्गी फूलले बडीमालिकाको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।

हिमालको मनोरम दृश्य, विशाल पाटन, दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी र पौराणिक किंवदन्तीले भरिएको बडीमालिका पछिल्ला वर्षमा देश तथा विदेशका पर्यटक र श्रद्धालुको रोजाइमा पर्न थालेको छ।

बडीमालिका माताको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने, रोगव्याधि निको हुने तथा सन्तान प्राप्त हुने लगायत धार्मिक विश्वास समेत रहँदै आएको छ। यही धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण बडीमालिकामा हरेक वर्ष हजारौँको सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गरेका छन्।

यस वर्ष नयाँ मन्दिर, सहज बन्दै गएको सञ्चार सेवा, सुरक्षा व्यवस्थापन र बढ्दो प्रचार प्रसारका कारण बडीमालिकाको धार्मिक तथा पर्यटकीय आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
 

 

प्रतिक्रिया