गाैमुल खबर डटकम मङ्गलबार ०९, भदौ २०८३ ०१:१६

अब बडीमालिका यात्रामा ‘नो नेटवर्क’ छैन : ४,२०० मिटरमै फोरजी, दर्शनार्थीलाई ठूलो राहत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०८, २०८३
अब बडीमालिका यात्रामा ‘नो नेटवर्क’ छैन : ४,२०० मिटरमै फोरजी, दर्शनार्थीलाई ठूलो राहत

बाजुरा ः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा भदौ ८ गतेदेखि मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रुपमा सञ्चालनमा आएको हो।

सुदूरपश्चिम प्रदेशकै प्रमुख आस्थाको केन्द्रका रुपमा रहेको बडीमालिका क्षेत्रमा सञ्चार सेवा विस्तार भएसँगै स्थानीय बासिन्दा, भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई मोबाइल र इन्टरनेट प्रयोगमा सहजता हुने भएको छ।

अत्यन्तै विकट तथा भौगोलिक रुपमा चुनौतीपूर्ण उच्च हिमाली क्षेत्रमा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले प्राविधिक टोली सहित नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा आवश्यक जडान सामग्री ढुवानी गरेको थियो। त्यसपछि टावर निर्माण तथा सेवा सञ्चालनको काम तीव्र रुपमा अघि बढाइएको थियो।

उच्च हिमाली भूगोल, कठिन पदमार्ग र प्रतिकूल भौगोलिक अवस्थाबीच प्राविधिक टोलीले निरन्तर काम गरेपछि बडीमालिका क्षेत्रमा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याउन सफलता मिलेको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् ।

सेवा विस्तारसँगै त्रिवेणी नगरपालिकाका वडा नम्बर ५ र ६, बडीमालिका नगरपालिकाका वडा नम्बर ५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटन लगायतका क्षेत्र समेत दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्।

टावर निर्माण तथा सेवा सञ्चालनमा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्ट लगायतका प्राविधिक टोली संलग्न रहेको टेलिकमले जनाएको छ।

बडीमालिका जस्तो उच्च हिमाली तथा दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तार हुनु स्थानीयका लागि मात्रै नभई हरेक वर्ष बडीमालिका दर्शनका लागि पुग्ने हजारौँ भक्तजन, तीर्थयात्री तथा पदयात्रीका लागि समेत महत्वपूर्ण उपलब्धि मानिएको छ।

सञ्चार पहुँच विस्तारसँगै यात्राका क्रममा सूचना आदानप्रदान, आफन्तसँग सम्पर्क तथा आकस्मिक अवस्थामा सहयोग लिन समेत सहज हुने अपेक्षा गरिएको छ। उच्च हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तारले बडीमालिकाको पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया