बाजुरा : गौमुल गाउँपालिकाले चिकित्सकको अध्ययनको लागि छात्रवृत्ति दिने भएको छ । चालु वर्षदेखि एमबीबीएस अध्ययनको लागि स्थानीय सरकारले छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
आईतबार गौमुल गाउँपालिकाको दोस्रो गाउँसभा तथा चौँधाै अधिवेशनबाट पारित गरिएको छ । सरकारी विद्यालयबाट एसईई परीक्षा पास गरेको र स्थानीयलाई पालिकाले पहिलो प्राथमिकता दिने गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।
पालिकाभित्रका विद्यार्थीलाई चिकित्सक बन्नलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको अध्यक्ष रोकायाको भनाई रहेको छ । गाउँपालिका भित्रका निम्न आय भएका परिवारका सदस्य पनि चिकित्सक बन्न सकुन भन्ने उद्देश्य लिएको उनले बताए ।
गौमुल गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधीन छ । आगामी वर्षदेखि गाउँपालिकामै अस्पताल सञ्चालनमा आउँनेछ ।
पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । एमबीबीएस लगायत प्राविधिक विषयमा पढ्न सक्नेलाई सहयोग गर्न लागेको थापाको भनाई रहेको छ ।
गौमुल गाउँपालिका–३ पाते स्थायी घर भएका दमन धामीलाई तत्काल एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्थापन गरिएको छ ।
दुई वर्षसम्म गाउँपालिकामा अनिवार्य सेवा गर्ने शर्तमा अध्यापन गराउने गरी कार्यपालिकाले निर्णय गरेको हो । पढ्न सक्ने क्षमता भएका तथा आर्थिक अभावका कारण समस्यामा परेकालाई स्थानीय सरकारले प्राथमिकता दिने गरेको छ ।
प्रतिक्रिया