गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:२९

पहिरोको उच्च जोखिममा रोल्पाका बस्ती : एक महिनामा कम्तीमा २३ जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
पहिरोको उच्च जोखिममा रोल्पाका बस्ती : एक महिनामा कम्तीमा २३ जनाको मृत्यु

रोल्पा : रोल्पामा पछिल्लो एक महिनायता विभिन्न विपद्जन्य घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको पहिरो,बाढी तथा चट्याङका कारण साउन महिनामा  ठूलो मानवीय क्षति भएको हो। एक हप्ताभित्र मात्र १८ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

साउन २ गते परिवर्तन गाउँपालिका-४ पाछाबाङमा पहिरोमा परी ५७ वर्षीय देउप्रसाद घर्तीको मृत्यु भएको थियो। बाटो हिँडिरहेका बेला माथिबाट खसेको पहिरोले उनलाई पुरेको थियो। त्यसपछि साउन ९ गते सुनछहरी गाउँपालिका-१ सेरममा पहिरोमा परी दुई महिलाको मृत्यु भएको थियो। अमिरा घर्ती मगर र असौजी घर्ती मगर गोठालो गएका बेला पहिरोमा परेका थिए ।

साउन २१ गते सुनछहरी गाउँपालिका-११ फुलिबन नजिकै बाच्छे खोलाले बगाउँदा ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो। सामाजिक सुरक्षा भत्ता लिएर घर फर्किने क्रममा खोला तर्ने बेला उनलाई बगाएको थियो। एक वृद्ध समेत घाइते भएका थिए । रोल्पामा सबैभन्दा ठूलो मानवीय क्षति साउन २८ र २९ गतेको पहिरोबाट भएको छ।

थबाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा १३ जनाको मृत्यु भयो । पहिरोले बस्ती नै पुरेको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिका-२ फलबाङमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भयो। ७७ वर्षीय वीरबहादुर घर्तीमगर,६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही क्षेत्रमा अर्का एक जनाको पनि पहिरोमै परेर ज्यान गयो । यसैबीच साउन २९ गते लुङ्ग्री गाउँपालिका-१ खदरमा चट्याङ लागेर ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भयो। घरमै रहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पछिल्लो घटनाका रूपमा साउन ३० गते राति लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरोले घर पुरेपछि गुरुङको मृत्यु भएको हो। पछिल्लो अवधिमा भएको मानवीय क्षतिको ठूलो हिस्सा पहिरोबाट भएको देखिन्छ।

पूर्वी रोल्पा विपदबाट बढि प्रभावित बनेको छ । कम्तीमा २२ जनाको पूर्वी रोल्पाकै नागरिकको ज्यान गएको छ । पहिरोले यहीँ क्षेत्रको बस्ती र घर जोखिममा परेका छन् । पहिरोले गाउँमा त्रासदी फैलिएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पहिरोको जोखिम कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन,सम्भावित जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान  स्थानीय प्रशासन आग्रह समेत गरेको छ । 

प्रतिक्रिया