बैतडी । वैदेशिक रोजगारीका लागि युवाहरू बाहिरिने क्रम बढिरहेका बेला सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्ट भने मौरीपालनबाटै आफ्नो परिवारको खर्च धान्दै आउनुभएको छ । करिब २५ वर्षदेखि मौरीपालनमा सक्रिय विष्टसँग अहिले ५० वटा मौरीका घार छन् ।
घार राख्न पर्याप्त ठाउँ नहुँदा उहाँले घरको भित्ता, सडक छेउदेखि भिरपाखासम्म मौरीका घार व्यवस्थापन गर्नुभएको छ । स्थानीय काठबाट बनाइएका परम्परागत घारमा मौरी पाल्दै आउनुभएका विष्टले वर्षमा करिब दुई क्विन्टल मह उत्पादन गर्नुहुन्छ । उत्पादित मह स्थानीय बजारका साथै जिल्लाबाहिरसमेत बिक्री हुने गरेको छ ।
विष्टका अनुसार बजारमा महको माग राम्रो छ । स्थानीय बजारमै प्रतिकिलो करिब रु १ हजार ५०० मा मह बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । यसबाट वार्षिक रु २ लाख ५० हजारदेखि रु ३ लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
वर्षमा दुईपटक मह निकाल्ने विष्टले चैत–वैशाख र कात्तिक–मङ्सिरमा उत्पादन संकलन गर्नुहुन्छ । एकपटकमा एक क्विन्टलभन्दा बढी मह उत्पादन हुने उहाँले जानकारी दिनुभयो । मागअनुसार उत्पादन बढाउन सके बजारको अभाव नहुने उहाँको विश्वास छ ।
तर मौरीपालनमा अवसरसँगै चुनौती पनि उत्तिकै छन् । आधुनिक घारको अभावमा परम्परागत काठका घार प्रयोग गर्नुपर्दा वर्षायामको चिसो, जङ्गली जनावर र अन्य जोखिमबाट मौरी जोगाउन कठिन हुने गरेको विष्ट बताउनुहुन्छ ।
पछिल्ला वर्षमा तरकारी खेतीमा प्रयोग हुने रासायनिक विषादी पनि मौरीपालकका लागि थप समस्या बनेको छ । फूलमा रस संकलन गर्न पुगेका मौरी विषादीको सम्पर्कमा आएर मर्ने गरेको उहाँको अनुभव छ । मौरी संरक्षणका लागि किसानले विषादी प्रयोगमा सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ ।
मौरीपालनसँगै विष्ट बाख्रापालनमा समेत संलग्न हुनुहुन्छ । सीमित स्रोतसाधनका बीच परम्परागत ढंगबाट व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ आधुनिक प्रविधि र आवश्यक सहयोग उपलब्ध भए मौरीपालनलाई अझ ठूलो व्यवसायका रूपमा विस्तार गर्न सकिने बताउनुहुन्छ ।
प्रतिक्रिया