गाैमुल खबर डटकम आइतबार २४, साउन २०८३ ०८:४३

बडीमालिका नगरपालिकाको कडा सूचना : व्यवसाय दर्ता नगरे कारबाही, नवीकरणमा १५% छुट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन २४, २०८३
बडीमालिका नगरपालिकाको कडा सूचना : व्यवसाय दर्ता नगरे कारबाही, नवीकरणमा १५% छुट

बाजुरा ःबडीमालिका नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायलाई अनिवार्य रुपमा दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ ।

नगरपालिकाको राजस्व शाखाले सार्वजनिक सूचना जारी गर्दै व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने तथा दर्ता भएर पनि नवीकरण नगर्ने व्यवसायीलाई तोकिएको कानुनबमोजिम कारबाही हुने जनाएको हो ।

नगरपालिकाका अनुसार बडीमालिका नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका र हालसम्म व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका उद्योग, व्यापार, व्यावसायिक फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, सहकारी संस्था, निजी विद्यालय, अस्पताल, क्लिनिक, फार्मेसी, होटल, रेस्टुरेन्ट, पसल, रेडियो, एफ.एम., पत्रपत्रिका तथा अन्य सबै प्रकारका व्यावसायिक कारोबार गर्ने व्यक्ति, फर्म वा संस्थाले अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता गरी मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

त्यस्तै, व्यवसाय दर्ता गरिसकेका तर हालसम्म नवीकरण नगरेका सबै व्यवसायीलाई पनि आफ्नो व्यवसाय अनिवार्य रूपमा नवीकरण गर्न नगरपालिकाले जानकारी गराएको छ ।

नवीकरण गर्दा १५ प्रतिशत छुट

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा व्यवसाय नवीकरण गर्नुपर्ने व्यवसायीलाई विशेष छुटको व्यवस्था गरेको छ ।

आर्थिक वर्ष प्रारम्भ भएको मितिले तीन महिनाभित्र व्यवसाय नवीकरण गरेमा बडीमालिका नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार लाग्ने नवीकरण दस्तुरमा १५ प्रतिशत छुट प्रदान गरिने सूचनामा उल्लेख छ ।

नयाँ व्यवसाय दर्तामा पनि विशेष व्यवस्था

हालसम्म दर्ता प्रक्रियामा नआएका व्यवसायले आर्थिक वर्ष २०८३/०८४ को प्रारम्भ भएको मितिले तीन महिनाभित्र दर्ता प्रक्रियामा आएमा एकपटकका लागि आधार वर्ष २०७९/०८० कायम गरी पछिल्ला दुई आर्थिक वर्षको नवीकरण दस्तुर र बाँकी वर्षहरूको दण्ड जरिवाना छुट गरिने नगरपालिकाले जनाएको छ ।

तर आधार वर्षभन्दा अगाडीका वर्षहरूको नवीकरण दस्तुर भने बडीमालिका नगरपालिकाको आर्थिक ऐन २०८३ अनुसार अनिवार्य रुपमा बुझाउनुपर्ने सूचनामा स्पष्ट पारिएको छ ।

दर्ता तथा नवीकरण नगरे कानुनी कारबाही

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले तोकिएको अवधिभित्र व्यवसाय दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बडीमालिका नगरपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि २०८२ अनुसार व्यवसाय दर्ता, नवीकरण, जरिवाना, शुल्क असुल तथा आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

नगरपालिकाले सम्बन्धित सबै व्यवसायी तथा संस्थालाई समयमै व्यवसाय दर्ता तथा नवीकरण गरी कानुनी झन्झटबाट बच्न आग्रह गरेको छ ।

प्रतिक्रिया