बाजुरा ः गौमुल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यलाई प्रभावकारी बनाउन गाउँघर तथा टोलमै पुगेर सेवा प्रवाह गरिरहेको छ ।
वर्षायामका कारण उत्पन्न कठिनाइ र इन्टरनेटको अभावका बीच पनि गाउँपालिकाको पञ्जीकरण शाखाका कर्मचारीहरु फिल्डमै खटिएर नागरिकलाई सेवा दिइरहेका छन् ।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले कर्मचारीहरुको सेवाभावप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि कर्मचारीहरु गाउँघरमै पुगिरहेको बताएका छन् ।
उनका अनुसार वर्षाका कारण सडक तथा आवागमनमा समस्या हुनुका साथै कतिपय ठाउँमा इन्टरनेट सेवा समेत सहज नभए पनि जहाँ इन्टरनेट चल्छ, त्यहीँ बसेर नागरिकलाई सेवा दिने प्रयास भइरहेको छ ।
अध्यक्ष रोकायाले सामाजिक सुरक्षा भत्ता लगायत राज्यबाट प्राप्त हुने आधारभूत सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सेवा पुर्याउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।
उनले भने, “हाम्रा कर्मचारी साथीहरु फिल्डमै खटिनुभएको छ । सबै साथीहरुलाई धन्यवाद । वर्षातको समयमा नेटको अभावका बीच पनि जहाँ नेट चल्यो, त्यहीँ बसेर सेवा दिने काम भइरहेको छ । जनताका आधारभूत आवश्यकता र पहुँचबाहिर रहेका जनतालाई सेवा दिने काम भइरहेको छ ।”
गाउँपालिकाको पञ्जीकरण शाखाले विशेषगरी सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले गाउँ तथा टोलमै पुगेर सेवा प्रदान गरिरहेको छ ।
यसबाट वृद्धवृद्धा, अशक्त तथा भौगोलिक रुपमा टाढा रहेका नागरिकलाई सहज भएको छ । सेवा प्रवाहका क्रममा नागरिकबाट आउने गुनासालाई समेत गम्भीरतापूर्वक लिने अध्यक्ष रोकायाले बताएका छन् ।
“गुनासा आउँछन्, फेरि पनि हामी गुनासा सुन्न प्रयासरत रहनेछौँ । समाधानका बाटाहरू खोजिरहनेछौँ,” उनले बताएका छन् ।
भौगोलिक विकटता, वर्षायाम र सञ्चार तथा इन्टरनेट सेवाको असहजताबीच पनि कर्मचारीहरु गाउँगाउँमा पुगेर सेवा दिइरहनुले स्थानीय सरकारको ‘जनताको घरदैलोमै सेवा’ भन्ने भावनालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा हेरिएको छ ।
प्रतिक्रिया