बाजुरा ःबाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप साढे दुई महिनापछि पुनः आइपुगेको छ । गत जेठ दोस्रो सातादेखि जिल्लाभर खोप अभाव रहेकामा शुक्रबार (साउन २९ गते) प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट दुई सय भाइल खोप उपलब्ध भएको हो ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीका अनुसार संघीय सरकारले खोप खरिद प्रक्रियामा ढिलाइ गरेपछि बाजुरा सहित देशभर नै रेबिज विरुद्धको खोपको अभाव भएको थियो । “खोप हामी आफैंले खरिद गर्ने होइन, संघ सरकारले खरिद गर्ने हो ।
संघबाटै खोप खरिदमा ढिलाइ हुँदा अभाव भएको हो । अहिले भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्लाका लागि दुई सय भाइल खोप उपलब्ध भइसकेको छ,” धामीले भने ।
स्वास्थ्य कार्यालयका अनुसार अब जिल्ला अस्पतालसँगै आधारभूत अस्पताल कोल्टी र टाँटेमा समेत रेबिज विरुद्धको खोप उपलब्ध हुनेछ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार जंगली तथा घरपालुवा जनावरले टोकेपछि हप्तामा दुई-तीन जना रेबिज विरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।
तर लामो समयसम्म सरकारी अस्पतालमै खोप उपलब्ध नहुँदा बिरामीले निजी स्वास्थ्य संस्थाबाट महँगो शुल्क तिरेर खोप लगाउनुपर्ने बाध्यता थियो । सरकारी अस्पतालमा खोप नहुँदा बिरामीहरू खोप खोज्दै विभिन्न ठाउँमा धाउनुपर्ने अवस्था आएको स्थानीय गोरे विकले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार रेबिजको लक्षण देखिएपछि यो रोग अत्यन्त घातक बन्न सक्ने भएकाले कुकुर, बिरालो वा अन्य सम्भावित संक्रमित जनावरले टोकेको अवस्थामा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय सल्लाह अनुसार खोप तथा आवश्यक उपचार लिनुपर्छ ।
हाल जिल्लामा खोप उपलब्ध भएपनि आगामी दिनमा पुनः अभाव हुन नदिन नियमित आपूर्ति, पर्याप्त मौज्दात र समयमै वितरणको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया