बाजुरा ःजिल्ला सदरमुकाम मार्तडी बजारमा ग्यासको अवस्था र वितरण प्रणालीबारे जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा बजार अनुगमन गरिएको छ।
बजारमा ग्यासको उपलब्धता, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले सहज रुपमा ग्यास पाउन सक्ने अवस्थाबारे जानकारी लिन ग्यास बिक्री गर्ने पसल तथा डिलरहरुमा अनुगमन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका नयन रावलका अनुसार मार्तडी बजारमा ग्यासको अवस्थाबारे जानकारी लिन सम्बन्धित पसल तथा बिक्री केन्द्रहरुमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा बजारमा ग्यासको अवस्था सामान्य रहेको पाइएको बताइएको छ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाट, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकाया लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले ग्यासको मौज्दात, बिक्री-वितरण तथा उपभोक्तालाई उपलब्ध गराउने अवस्थाबारे जानकारी लिएको थियो। बजारमा ग्यासको अभाव वा असहज अवस्था नरहेको अनुगमनबाट बुझिएको छ।
प्रशासनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने, तोकिएको मूल्य भन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएको छ।
ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तथा उपभोक्तालाई अनावश्यक समस्या नहोस् भन्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
मार्तडीमा अहिले ग्यासको अवस्था सामान्य छ। तर कृत्रिम अभाव वा कालोबजारी गरेको पाइए कडा कारबाही हुने प्रशासनको चेतावनी छ।





प्रतिक्रिया